राजधानीमैं निर्माण कार्यमा ठेकेदारको चरम लापर्वाही, स्थानीय सरकार मुकदर्शक

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित इटालिटार र पासीकोट जोड्ने लुडे खोलाको निर्माणाधीन पक्की पुल गत वैशाख १ गतेदेखि सम्पूर्ण निर्माण कार्य ठप्प छ । वैकल्पिक मार्ग पनि केही दिन अघिको बर्षा र शुक्रबार रातिको वर्षाको कारण भत्किएपछि एम्बुलेन्स पनि आवाज जावत गर्न नसक्ने स्थिति पैदाभएको हो । यसले गर्दा स्थानीयबासीहरूले ठूलो सास्ती भोग्नुपरिरहेको छ ।

निर्माण कार्य किन रोकिएको भनेर सम्पर्क गर्न खोज्दा ठेकेदार कम्पनी सम्पर्कमा नआएको र वडा नम्बर ६ का वडा अध्यक्षलाई सम्पर्क गर्दा अब चाँडै काम सुरु हुन्छ भने पनि काम सुरु हुने कुनै सङ्केत नदेखिएको स्थानीयबासी बताउँछन् । स्थानीय उपभोक्त समितिहरू पनि यस विषयमा कुनै जानकारी नभएको बताउछन् ।



पुल निर्माणकार्य रोकिएको अवस्थामा वर्षाको कारण स्थानीय बासिन्दाको घर नै धरापमा परेका छन् । केही दिन अघिको वर्षाले स्थानीयको कम्पाउण्डसम्मको केही भाग खोलाले बगाएको छ । मनसुन सुरु भएसँगै अझै ठूलो वर्षा हुने हो भने घर नै जोखिममा पर्नसक्ने सम्भावनालाई नकार्न सकिन्न । यस कुरालाई स्वयं ठेकेदार कम्पनीले पनि केही समयअघि स्वीकार गरिसकेको थियो र यथाशीघ्र समाधान गर्ने वचन पनि दिएको थियो तर हाल ठेकेदार गायब छ ।

पुल निर्माणको लागि खनिएको खाल्डाहरूका कारण पुल निर्माणस्थल वरपरका घरका इनारहरू सुक्दै गएको पनि स्थानीयबासी बताउँछन् ।

सम्बन्धित समाचार