नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असार ।

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल ११ हजार ६४० जनाको नमूना परीक्षण गर्दा दुई हजार ४४४ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ५०९ र एन्टिजेन विधिबाट ९३५ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल छ हजार ६४८ पीसीआर र चार हजार ९९२ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ६८ हजार २२१ पुगेको छ।
थप तीन हजार ८५३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ८८ हजार १८७ पुगेको छ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ ।

