मनसुनी गतिविधि फेरि सक्रिय, भोलिदेखि अति भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मनसुन पुनः सक्रिय भइ केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। केही दिन केही कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुने भएको हो।

महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनमा भनिएको छ, ‘बुधबारदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’



बुलेटिनमा अघि उल्लेख छ, ‘प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ।’

त्यसका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।अद्यावधिक मौसमी सूचना लिइरहन पनि अपील गरिएको छ।

सम्बन्धित समाचार