नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।

आज देशभर भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भने भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
बाढीको जोखिम भएका यी स्थानमा सतर्कता अपनाउन आग्रह
भारी वर्षाका कारण नेपालका साना तथा ठूला नदीहरूमा पानीको बहाब बढ्दो छन् । सिन्धुलीको कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी बिहान पाँच बजेदेखि परासीस्थित बर्दाघाट वर्षामापन केन्द्रमा पनि भारी वर्षामापन भएको छ । उक्त क्षेत्रका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह छ ।
बिहान दुई बजेदेखि मकवानपुरस्थित रजैया र हेटौंडा वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको हुँदा पूर्वी राप्ति नदी तटीय क्षेत्रहरूमा दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

