ओली र नेपालबीचको टेलिफोन संवादपछि भाँडियो एमाले एकता

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ।

विहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए। सोही बमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए। तर नेपालले भेट्न नमानेको स्रोतको दाबी छ। नेता नेपालले कुनै पनि कुरा नमिलीकन भेटघाट गर्नुको अर्थ नभएको र त्यसका लागि अहिले उपयुक्त समय पनि नभएको बताएपछि ओलीले शुक्रबार केन्द्रीय कमिटीको बैठक राखेका हुन्।



केन्द्रीय कमिटी बैठकबाट विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार अपराह्न ५ बजेसम्म फिर्ता लिन नेपाल पक्षलाई समयसीमा तोकिएको छ। नेपाल पक्षले भने प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दालाई उठाउनै नहुने बताएको छ। ओलीले मुद्दालाई प्रभावित पार्न नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेका हुन्। सर्वोच्च अदालतबाट आउने निर्णयकै आधारमा पार्टीको विवाद निरूपण हुने भएकाले त्यस विषयमा अदालतकै निर्णय कुर्नुपर्ने नेपालले बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार