नवराज घिमिर
काठमाडौं, २० असार ।
यो कथा कर्मवीर हरिन्द्र महराको हो । २०३७ साल रागुनाथापुर १ रौतहटमा जन्मिएका हरिन्द्र महरा २०५७ साल मंसिरमा काम र मामको खोजी गर्दै रौतहटबाट काठमाडौं आए । कालीमाटीको एउटा गल्लीमा एउटा कोठा भाडामा लिएर पाँचजनाको परिवार बस्न थाले । पाँचजनाको विपन्न परिवारलाई काठमाडौंको महङ्गीमा दैनिकी चलाउन सहज थिएन । उनी कामको खोजीमा भौंतारिन थाले । लामो समयसम्म काठमाडौंका गल्लीहरू चाहार्दा पनि आफूले चाहेजस्तो काम पाउन सकेनन् । उनले सोचेजस्तो रहेन छ काठमाडौं । उनले दस ठक्कर पाए । कहिलेकाहीं त उनलाई फर्केर आफ्नै जिल्ला जाऔं कि भन्ने पनि नलागेको होइन तर लोकलाजले त्यस्तो निर्णय गर्न पनि सकेनन् । कुनै समय उसका पनि राम्रा दिनहरू आउलान् भनेर हिम्मत जुटाइरहे ।
अन्ततः हरिन्द्रले जुत्ता पालिस गरेर भए पनि जीवन–गाडी चलाउने निर्णय गरे । जुत्ता पालिस गर्नका लागि उनले त्रिपुरेश्वरको सडक पेटीलाई कर्मथलो बनाए । अनि सुरु भयो नयाँ दैनिकी । उनी ७ बजे त्रिपुरेश्वरको सडक पेटीमा पुग्थे र बेलुका मान्छे आवतजावत हुञ्जेल सडक पेटीमैं हुन्थे । आरम्भमा दैनिक ५०० देखि ८०० सम्म आम्दानी हुन थाल्यो । यसले एउटा सानो भए पनि आधार दियो । अब चुल्हो बाल्न त्यति गाहो भएन । समय बित्तै गयो, बानी लाग्दै गयो र दैनिक कमाइ पनि वृद्धि हुँदै गयो । दैनिक कमाइ २ हजारदेखि ३ हजारको हाराहारीमा हुन थालेपछि भने हरिन्द्रलाई आफूले रोजेको बाटो ठीकै लाग्न थालेको थियो । अब काठमाडौंको बसाइ उसलाई सहज लाग्न थालेको थियो । जीवन सहज बन्दै गएपछि समय बितेको पनि पत्तै हुँदैन भनिन्छ । हरिन्द्रले त्रिपुरेश्वरको सडक पेटीलाई कर्मथलो बनाएको पनि २१ वर्ष पूरा भइसकेछ ।
यसै मेसोमा हरिन्द्रलाई उनले बिताएको २१ वर्षका अनुभूतिका बारेमा सोध्दा उनी यस पेशामा आफू रमेको र आफूले आफ्नो कामलाई सम्मान गर्ने गरेको बताउँछन् । उनी थप्छन् ‘यस पेशाले मलाई आधार दिएको छ । काम सानो ठूलो हुँदैन । राम्रो कामको खोजी गर्दै विदेश जानुभन्दा स्वदेशमा नै केही गर्नु राम्रो हो भन्ने ठानेर यो पेशा रोजेको थिएँ । खुसी नै छु ।’
यो पेशा आरम्भ गर्दा हरेन्द्र २० वर्षका रहेछन् । अहिले उनी ४१ का पुगे र पनि पेशालाई निरन्तरता दिइरहेका छन् । आफ्नो विगत सम्झँदै उनी भन्छन् ‘१९ वर्षको हुँदा बिहे भयो । बिहेपछि जिम्मेवारी थपियो । रौतहटमा बलियो आधार नपाएपछि भाग्यका पछि लाग्दै परिवारसहित म काठमाडौं भासिएको थिएँ । कयौं रातहरू भोकभोकै काठमाडौंका सडक र पेटीहरूमा सुतेर बिताएको छु । निरन्तरको सङ्घर्षले मलाई अहिले काठमाडौंमा स्थापित मात्र गराएको छैन, नयाँ कामको शुरुआत गर्ने हिम्मत र अवसर पनि जुटाइदिएको छ । परिवारको हार्दिक सपोर्ट पनि पाएको छु ।’
हरिन्द्रले नयाँ कामको खुलासा गर्दै भने ‘हो, जुत्ता पालिस गरेर कमाएको पैसाले घर खर्च चलाउँदै केही रकम बचत गरेको थिएँ । जम्मा गरेको त्यही रकमले त्रिपुरेश्वरमा साथीसँग मिलेर एउटा चश्मा पसल पनि शुरु गरें तर ३ वर्षसम्म खासै उपलब्धि नभइसकेपछि त्यो पसल बेचेर अहिले आफंै फलफुल तथा जुस पसल शुरु गरेको छु । करिब २० लाखको लगानीमा त्रिपुरेश्वर चोकमा फलफुल तथा जुस पसल सञ्चालनमा छ । यो पसल शुरु गरेको दुई वर्ष भयो । फलफुल पसल सञ्चालनको जिम्मा श्रीमतीलाई दिएको छु र आफूचाहिँ पुरानो पेशामा नै संलग्न छु । नयाँ व्यवसाय शुरु गरेकै केही समयपछि नै कोरोना महामारी आयो र देशमा लकडाउन शुरु भयो । लकडाउनले हामीजस्ता साना व्यवसायीहरूलाई निक्कै गारो पारेको छ । लकडाउन चाँडै सकिएला र पुनः जनजीवन सामान्य होला भन्ने पर्खाइमा छु ।’
हरिन्द्रको भोगाइ धेरैलाई एउटा पाठ हुन सक्छ । लाखौं खर्चेर विदेशमा गएर बाकसमा बन्दी बनेर आउनुभन्दा आफ्नै देशमा लगनशील भएर कुनै पेशा अँगाले त्यसले राम्रै प्रतिफल दिन सक्छ भन्ने कुरा उनीबाट सिक्न सकिन्छ । कर्मवीर हरिन्द्र्र जुत्ता पालिस गर्दै लाखौंको फलफुल तथा जुस पसलका मालिक बने । यो आफैंमा एउटा नमुना हो ।