साइमन मुडवरी (अस्ट्रेलिया)
काठमाडौं, २३ असार ।
नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसप्रति आस्थावान् स्वदेश तथा विदेशमा रहेका कार्यकर्ताहरू पनि तरङ्गित बनेका छन् । नेपाली कांग्रेस पार्टी पुनः आफ्नो गौरवशाली इतिहासमा फर्किन सकोस् भन्ने सबैको चाहना रहेको पाइन्छ । त्यसका लागि नेपाली कांग्रेसको अब आउने नेतृत्व आम कार्यकर्ता र मतदाताको मनोभावनालाई बुझेर सोही अनुसारको कदम चाल्न सक्षम बनोस् भन्ने पनि हो । तर वर्तमान नेतृत्वका कतिपय गतिविधिहरू सबैलाई समेट्नेभन्दा पनि नेताहरूका आफ्ना आसेपासेहरूलाई मात्र काखी च्याप्ने देखिनु दुःखको विषय हो ।
बाहिरबाट हेर्दा प्रजातान्त्रिक पार्टीजस्तो देखिए पनि नेपाली कांग्रेस पार्टी बीपीले देखेको सपनाभन्दा धेरै टाढा पुगिसकेको भान हुन्छ । नेपाली कांग्रेसको केन्द्रीय कमिटीमा आफ्ना मान्छे छैनन् भने तल्लो तहमा जतिसुकै योगदान गरे पनि त्यस्ता व्यक्तिको यथोचित मूल्याङ्कन हुँदैन भन्ने कुरा केही समयअगाडि अस्ट्रेलियामा भएको अधिवेशन तयारी समितिले थप स्पष्ठ पारेको छ । कृष्ण गिरी जगन्नाथको संयोजकत्वमा बनेको २१ सदस्यीय महाधिवेशन तयारी समितिमा वषौंदेखि प्रवासमा रहेर नेपाली कांग्रेसको श्रीवृद्धिमा योगदान गरेका र जनसम्पर्क समितिमा रहेर उत्कृष्ठ काम गरेका साथीहरू अटाउन सकेनन् । यसरी मनोमानी रूपमा बनेको २१ सदस्यीय समितिमा बरू ११ जना त विधानतः अवैध व्यक्तिहरू चयन गरिए ।
महाधिवेशन तयारी समितिमा जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक दिनेशराज जोशी, एनएडिएफका पूर्व अध्यक्ष विवेक थापा, दुर्गा आचार्य, छिरिङ्ग शेर्पा, बाबुकृष्ण घिमिरे, थानु शाक्य, महेन्द्र लम्साल, डिल्ली ढकाल, पूर्णनाथ घिमिरे, रमेश जोशी, दीपक पराजुली, रवीन्द्र गौतम, प्रेम पाठक, वसन्त पौडेल, अच्यूत अधिकारी, बुद्धि डल्लाकोटी, द्वारिका दवाडी, भुपाल सिटौला, मदनराज पौडेल, राजु गिरी, उद्वव विष्ट, विनोद उप्रेती, सुमन चापागाई, कृष्ण पोख्रेल, अशोक सुवेदीलगायतका नाम नसमेटिनु दुःखको कुरा हो । जिम्मेवार नेताहरूले राजीनामा दिने क्रम बढ्दै जाँदा पनि यदि केन्द्रले आफ्नो निर्णय सच्याउन सकेन भने कुनै पनि समय अर्को समानान्तर जनसम्पर्क समिति गठन हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । म स्वयम् पनि विगत ६ वर्षदेखि अस्ट्रेलियाको जनसम्पर्क समितिको महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको छु र मैले यहाँ आएका नेपालीलाई सारो, गारो र अप्ठ्यारो पर्दा निरन्तर सहयोगी भूमिका खेल्दै आएको पनि छु, तैपनि मेरो नाम समेत त्यस समितिमा अटाउन सकेन । विगत १० वर्षदेखि अष्ट्रेलियाका विभिन्न राज्यमा संगठित रहेर पार्टी गतिविधिलाई अगाडि बढाइरहेका जनसम्पर्क राज्य समितिहरूले पनि यो अधिवेशन तयारी समितिप्रति आफ्नो असन्तुष्टि राखिरहेका छन् । यदि २१ सदस्यीय समितिलाई ३१ सयस्यीय बनाएको भए पनि धेरै साथीहरु समेटिनुहुन्थ्यो र विवाद कम हुने थियो भन्ने मेरो धारणा हो ।
बरू आशीर्वाद पाउनेहरू विधानले रोक्तारोक्तै पनि समितिमा छिर्न सफल भए । एउटा तर्क गर्न सकिन्छ, महाधिवेशन तयारी समितिमा नपर्दैमा उसले गरेका सम्पूर्ण योगदानहरू शून्य हुने त होइन नि !, अरू भोलिका दिनहरूमा अरू अवसरहरू पनि आउलान् । तर एउटा स्वाभिमानी कार्यकर्तालाई यस्ता कार्यले स्वाभाविक रूपमा निराश बनाउँछ, अनि निराशाको अभिव्यक्ति कुनै पनि रूपमा प्रकट हुन सक्दछ ।
तयारी समितिमा परेकाहरू महाधिवेशन सदस्यका रूपमा महाधिवेशनमा प्रतिनिधित्व गर्न राज्दैछन् । नेपालको संविधान, २०७२ मा गरिएको स्पष्ट व्यवस्थाअनुसार विदेशस्थित विभिन्न मुलुकहरूको नागरिकता प्राप्त गरिसकेका आप्रवासी नेपालीहरूले निर्वाचन लड्न, राजनीतिक नियुक्ति हुन, कुनै पनि सरकारी तहमा रोजगारी गर्न पाइने छैन । विधिको शासन र कानुनी राज्यमा विश्वास राख्ने लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पछिल्लो आफ्नोे महासमितिको बैठकबाट पनि संवैधानिक व्यवस्थालाई स्वीकार्दै आफ्नो विधानलाई सोहीअनुरूप संशोधन गरिसकेको छ । नियामवलीले पनि यसको बारेमा स्पष्ट पारेको छ । मैले सोही समयदेखि यस विषयमा आफ्ना धारणाहरू लेख्दै र भन्दै आएको थिएँ र छु पनि । अबआइन्दा विदेशी मुलुकको पासपोर्टधारी आप्रावासी नेपालीहरूले नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यता दिन र लिन मिल्दैन, पाइँदैन । म फलानो दाइ नेताको नजिकको मान्छे, म कुरा गर्दैछु र मिल्ला मिल्ला जस्तो छ, म चिठ्ठी पठाइदिन्छु कत्ति कचकच गरेको भन्नु भएको छ, म यसलाई जसरी पनि मिलाउँछु भन्दै बुरूक्क उफ्रिनेहरूले पनि अहिले आएर त राम्रैसँग बुझेको हुनुपर्छ ।
स्मरण रहोस्, पिआर-ग्रिनकार्ड हुनेले पनि धेरै नउफ्रे हुन्छ । भारतको बाटो भएर नेपाल जान मिल्नेहरूले पनि महाधिवेशन प्रतिनिधि हुँदा समस्यामा परिएला । निर्वाचन लड्न पासपोर्टधारीहरूले मात्रै होइन, ग्रिनकार्ड, पिआर वा यस्तै स्थायी बसोबास अनुमति पत्र लिनेहरूले पनि पाउँदैन र मिल्दैन पनि । गैरनेपाली नागरिकहरूले म नेपाली नागरिक नै हुँ भनेर सही गरे हनुमान ढोकाको बास हुन सक्छ । गैरआवासीय नेपाली नागरिकहरूको हकमा शुभ कामना छ । ढाँटछल्ऽको बाहनाबाजीमा दाइ नेतालाई खुशी पार्न लुकिछिपी सक्रिय सदस्यता दिने र लिने र त्यसैको आधारमा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरू वा गाउँको वडाहरूदेखि महाधिवेशनसम्ममा आफ्नो क्रियाशील भूमिका देखाउने कार्यहरू कहिँकतैबाट नहोस् । संविधान, विधान र कानुनभन्दा माथि कोही छैन भन्ने हेक्का रहिरहोस् ।