पाल्पामा पहिरोले ६ घर पुरिए, एकको मृत्यु, सात घाइते

पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परी ४ वर्षीय बालक बेपत्ता भएका छन्। विहीबार बिहान सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा परी थप ७ जना घाइते भएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।

पाल्पा प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले दोगाडीबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको बताए। ‘दोगाडीबाट घटनास्थल धेरै टाढा होइन। तर, ठाउँ-ठाउँमा गएको पहिरोले बाटो अवरुद्ध छ। गाडि जान सक्ने अवस्था छैन। बिहानै हिडेको प्रहरी टोली अझै घटनास्थल पुग्न सकेको छैन’, उनले भने।



हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको प्रहरीले जनाएको छ। तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको खवर प्राप्त भएको भट्टराईले बताए। यस्तै पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन्।

प्रहरीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ। पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ।

सम्बन्धित समाचार