नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।

नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले क्रियाशील सदस्य नटुङ्गिएका कारण निर्धारित मितिमै महाधिवेशन हुनेरनहुनेमा प्रश्न उब्जिएको बताएका छन् । विहीवारको कुराकानीमा महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुङ्गिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिह्न खडा भएको बताए ।
विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुङ्गिएमा महाधिवेशनप्रति आशङ्का उब्जिने बताए । क्रियाशील सदस्य छिटो टुङ्ग्याउनका निम्ति आफूहरूले भरमग्दुर प्रयास गरेको पनि उनले बताए ।
महामन्त्री कोइरालाले भने, ‘क्रियाशील सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशङ्का भइहाल्यो नि यति जटिल छ अहिले क्रियाशील सदस्यका बारेमा । ४६ जिल्ला भइसक्यो, त्यसमा पनि उजुरी आएको छ, त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्न चिह्न चाहिँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशीलको छिटो टुङ्ग्याउँ भनेर ।’
महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरूको दौडधुप पनि निकै बढेको छ । विहीवार नै काठमाडौंमा रहेको एक होटलमा पौडेल पक्षीय नेताहरूले बैठक गरेका थिए । रामचन्द्र पौडेल, शशाङ्क कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेतासहितको बैठकमा पनि पार्टीको क्रियाशील सदस्य कसरी टुङ्ग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोइरालाले जानकारी दिए।
क्रियाशील सदस्य टुङ्गो नलगाइकन महाधिवेशनमा जान नसकिने उनको भनाइ छ ।

