संसदीय दलमा पनि उपेन्द्र पक्षको बहुमत, देउवासँग माग्यो सात मन्त्रालय

जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष महन्थ ठाकुर संसदीय दलमा पनि अल्पमतमा परेका छन् । यसअघि कुल ३२ सांसदमध्ये उपेन्द्र यादव पक्षसँग १२ मात्रै सांसद थिए । तर, अहिले महन्थका ६ जना सांसद उपेन्द्र पक्षको कित्तामा आएपछि महन्थ पक्ष अल्पमतमा परेको छ ।

महन्थ पक्षलाई अहिले आफ्ना सांसद जोगाउन हम्मेहम्मे परेको छ । बालकुमारीस्थित आज भएको उपेन्द्र पक्षीय संसदीय दलको बैठकमा महन्थ पक्षबाट पाँच सांसद उपस्थित थिए । ती हुन् नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरि, रुही नाज र प्रमोद साह। प्रमोद साहका अनुसार दुलारी देवी उपस्थित नभए पनि उपेन्द्र पक्षतिरै भएको बताए । उनका अनुसार आइतबारसम्म थप एक जना थपिएर उपेन्द्र पक्षमा १९ जना हुँदैछन् ।



यसो भएमा महन्थ पक्षसँग संसदीय दलमा जम्मा १३ जना सांसद हुनेछन् । साहका अनुसार अब बहुमत सदस्यले संसदीय दलको नेता चुनिने छ । जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षबीचको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । यी दुई पक्षले एकअर्कालाई कारबाही गरेको पत्र आयोगमा छ, जुन विचाराधीन छ ।

महन्थ पक्षले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्य गरेको थियो । उपेन्द्र पक्ष भने तत्कालीन विपक्षी गठबन्धनमा देखिएको थियो । यो पक्षले कांग्रेससँग सत्ता सहकार्य गर्ने तयारीमा छ । जसका लागि यादवले ७ मन्त्री र एक राज्यमन्त्री मागेको बताइन्छ ।

सम्बन्धित समाचार