घरेलु मदिरा पिउँदा चार जनाको मृत्यु, दुई गम्भीर

बागलुङको गलकोटमा घरेलु मदिरा खाएका ४ जनाको मृत्यु भएको छ। दुई जना बिरामी छन्। गलकोट नगरपालिका–७ मल्ममा सोमबार राति घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना बिरामी परेका थिए। उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा चार जनाको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रोल्पा सुनिल स्मृति गाउँपालिका– ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।



घटनाको विषयमा थप अनुसन्धान हुने हवारीले बताए। अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।शैलेन्द्र बि पोखरेलले बताए। रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ। दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरेलले बताए।

१४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको खवर आएको थियो।

सम्बन्धित समाचार