
कोरोना भाइरसरको संक्रमण दर बढ्दै गएकोले दमक, विर्तामोड र शिवसताक्षी नगरपालिकाहरूले एक साताको कडा निषेधाज्ञाको घोषणा गरेका छन् । गृह मन्त्रालयसहित स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाँदा कोरोना संक्रमण दर बढ्न थालेपछि झापाका यी स्थानीय तहले लकडाउन र निषेधाज्ञा जारी गरेका हुन् ।
कोरोना संक्रमण फेरि बढेको भन्दै दमक नगरपालिकाले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि साउन ११ गते बिहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको हो । त्यस्तै विर्तामोड नगरपालिकाले साउन १३ गते बुधबार रातको १२ बजेदेखि लागु हुने गरी एकसाताको लागि निषेधाज्ञा लगाउने निर्णय गरेको भने शिवसताक्षी नगरपालिकाले पनि साउन ११ गते सोमबार राती १२ बजेदेखि १८ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
सबै नगरपालिकाहरूले अत्यावश्यकीय काममा बाहेक घरबाहिर निस्कन रोक लगाइएका छन् । नगरपालिकाबाट अनुमति नलिई घर बाहिर निस्किएमा कारबाही हुने बताइएको छ । यस अवधिमा सबै किसिमका व्यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था, सवारी साधन पूर्णरुपले बन्द हुने जानकारी दिएको छ भने नगरपालिकहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सबैमा आग्रह पनि गरेका छन् ।

