
काठमाडौंमा उपलब्ध नेपाली कांग्रेसका जिल्ला सभापति एवं महासमिति सदस्यहरूको तर्फबाट हालै एक विज्ञप्ति प्रकाशित गरी केही दिनअघि मात्र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले गरेका क्रियाशील सदस्यतालगायत कतिपय विवादास्पद निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण गएकोले त्यसलाई सच्याउन विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ– नेपाली कांग्रेसका लाखौं क्रियाशील सदस्यहरूले व्यग्र प्रतीक्षा गरेको पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएको खबरप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसप्रकारको कदमले पार्टीको लोकतान्त्रिक छविमा असामान्य आघात पुगेको र नयाँ पुराना सम्पूर्ण पार्टी सदस्यको चाहना अनुरूप सबैखाले चुनौतीको सामना गर्नसक्ने नीति र नेताबारे निर्णय गर्ने ऐतिहासिक अवसरबाट पार्टी चुकेको छ ।
पार्टीको १३औं महाधिवेशनबाट गठन भएको वर्तमान केन्द्रीय कार्यसमितिले विश्वव्यापी लोकतान्त्रिक विकेन्द्रीकरणको सिद्धान्त र विधानका प्रष्ट व्यवस्थाविपरीत जिल्ला कार्यसमितिलगायत पार्टीका तल्ला तहहरूको भूमिकालाई कमजोर बनाउँदै लगेको, महासमिति बैठकको निर्णयहरूल्ऽाई हठात् उल्टाएको, विधानविपरीत छ्यापछ्याप्ति विना मापदण्डका नियुक्ति पत्रहरू बाँड्दै हिडेको, पार्टीमा लामो समय काम गरेका नेता एवं सदस्यहरूको अपमान तथा तेजोवध गरेको र अराजनीतिक आधार एवं स्वार्थको जगमा राजनीतिक अवसर र भूमिका प्रदान गरिएका बर्गेल्ती घटनाहरूले देशभरिका साथीहरूको मन कुँडिइरहेको बेलामा अहिले महाधिवेशनको मुखमा आएर क्रियाशील सदस्यता छानविनका नाममा अनियमितताले सीमा नाघेको छ ।
विधानको धारा ४ को उपधारा ८ (ग) मा उल्लेखित ‘क्रियाशील सदस्यता प्रारम्भिक छानविन समिति’ को अधिकारमाथि ठाडो हस्तक्षेप गरियो र षडयन्त्रपूर्वक सोझै ‘केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति’ मा उजुरी राख्न सूचना निकालियो । सबै अधिकारलाई केन्द्रीकरण गर्ने र आफुखुसी हेराफेरी गर्ने डरलाग्दो श्रृङ्खला जारी छ ।
सफ्टवेयर प्रयोगको सकारात्मक प्रयत्नमाथि एकतर्फी रूपबाट दुरूपयोगको खतरा झनै बढ्दै गएको छ । पार्टी संस्थापनको दवाव र प्रभावका आधारमा वडादेखि प्रक्रियागत रूपबाट आएका नामवलीको अलावा पनि नामहरू ईन्ट्री भएको, प्रक्रिया पुगेका कतिपय नामहरू हटाइएको, शतप्रतिशतभन्दा बढी समेत ईन्ट्री भएको, समायोजनका नाममा विधि र औचित्य नाघेर निर्णय भएको, ठाऊँ हेरी समान प्रकृतिका समस्यामा विपरित निर्णय भएको र समग्रमा पार्टी संस्थापनको स्वार्थलाई केन्द्रविन्दुमा राखेर पक्षपातपूर्ण काम भैरहेको छ ।
अविलम्व सम्पूर्ण नामवलीको सूची सार्वजनिक गर्न, त्रृटिपूर्ण तथा अन्यायपूर्ण नामावलीलाई विधानसम्मत सच्याउने मौका प्रदान गर्न र पारदर्शी रूपले सदस्यता सम्बन्धी समस्याको निराकरण गर्न केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छौं । साथै, विधान र मापदण्डविपरीत क्रियाशील सदस्यता थोपरिएमा हुनसक्ने कुनै पनि दुष्परिणामका प्रति स्वयं नेतृत्व जिम्मेवार रहने तथ्य समेत स्पष्ट गर्न चाहन्छौं, विज्ञप्तिमा उल्लेख छ ।

