नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोगले आफ्नो अन्तिम निर्णय सुनाउदै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुरको पक्षमा लागेका सांसदहरुको पद के हुने भन्ने प्रश्न सिर्जना भएको छ। निर्वाचन आयोगले फैसलामा सांसद पदका बारेमा बोलिएको छैन। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यो क्षेत्राधिकार आयोगको नभएको जवाफ दिएका छन्।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जसपाका सांसद्हरु सोही पार्टीमा रहे सांसद् पद यथावत् रहने बताए। तर, ठाकुरले नयाँ पार्टी गठन गरे र जसपाका सांसद्हरु त्यता गए भनेचाहिँ सांसद् पद गुम्ने उनको भनाइ छ।
४० प्रतिशत पुर्याएर विभाजन नभएकाले सांसद पद नगुमाउनका लागि महन्थ ठाकुरसहित उनी पक्षका सांसदले उपेन्द्र यादवकै पार्टीमा रहनुपर्ने भएको छ । उपेन्द्रलाई नेतृत्व स्वीकारेर महन्थ बस्ने अवस्था नरहेको र चालिस प्रतिशत पुर्याएर पार्टी विभाजन गर्ने हैसियत भनि नभएकोले ठाकुर पक्षका सासद्को पद गुम्ने निश्चित देखिन्छ ।

