लकडाउन फोबिया : बालबालिकाको भविष्य र अबको समाधान

नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन् । यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आशय भने पक्कै हो ।

वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युमा फसिरहेको छ । एकदिन अघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनले केही दिन अत्याधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने । महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने, मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रूपमा लिने सरकारी रबैया नै गलत छ । बिहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुईघण्टाका लागि खुकुलो बनाइदिनेजस्ता अवैज्ञानिक प्रणाली नै हाँसउठ्दो कुरो छ । तरकारी बजारमा यति धेरै मानिस हुन्छन् कि तिनले कोरोना संक्रमण फैलाउँदैनन्, तर दुई चारजना भेला भएर हिड्दा कोरोना सरिहाल्छ, संक्रमण दर बढिहाल्छ भन्ने अबुझ र अदूरदर्शी सोच अहिलेको पराकाष्ठा हो । यो श्रृंखला हेर्दाहेर्दै १६ महिना बितिसक्यो । सरकार लकडाउन र लजुडाउनकै गणितमा फसिरहेको छ ।



सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरूपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिँदै यसले मानव जातिलाई नै अक्रान्त बनाइरहेको छ । यस महामारीले समाजका हरेक तह–तप्कालाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयुक्ति नहोला । हुन त मानव जातिको उदयसँगै यसप्रकारका थुप्रै महामारीहरू फैलिएको र त्यसबाट हजारौँ, लाखौँ, करोडौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेका उदाहरणहरू हामीसँग जीवितै छन् । रोगकै कारण मानिसले औषधिको निर्माण गर्याे । आवश्यकता महसुस हुँदै जाँदा विश्वमा अन्य थुप्रै आविष्कारहरू भए ।

१४औँ शताब्दीको पाँचौं र छैठाैं दशकमा ‘प्लेग’ को महामारी युरोपभरि फैलियो, जसका कारण युरोपको एकतिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो । १५औँ शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतनले ठूलै समस्या निम्त्याए । युरोप विस्तारपछि अमेरिकाको करिब ६ करोड जनसंख्या उक्त एक शताब्दीमा घटेर ६० लाखमा सीमित भएको तथ्यांक बेलायतको युनिभर्सिटी कलेज अफ लण्डनका वैज्ञानिकहरूले आफ्नो एक अध्ययनमा समावेश गरेका छन् । सन् १६४१ मा उत्तरी चीनमा फैलिएको प्लेगले २० देखि ४० प्रतिशत जनसंख्या साफ भयो भने सोही महामारीका कारण मिङ राजवंशको पतन भएको इतिहास छ ।

दादुरा, मलेरिया, प्लेग, रूघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौँ मानिसको ज्यान लिए । जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्याे । महामारीकै इतिहासमा एल्लो फिभर र फ्रान्सविरूद्ध हाइटीको बिद्रोहले आफ्नो इतिहास ताजै राखेको पाइन्छ । त्यसो त अफ्रिकी जनावरहरूमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो । सन् १८८८ र १८९७ का बीचमा फैलिएको राइण्डरपेष्ट नामको उक्त भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर–पालुवा जनावरहरूको विनास गर्यो । यसलाई जनावरमा हुने ‘ब्लेग’ नामाकरण गरियो । फलस्वरूपः युरोपेली शक्ति राष्ट्रहरूले सन् १९०० सम्ममा अफ्रिकी मुलुकहरूका ९० प्रतिशत भूभाग कब्जामा ल्याइसकेका थिए ।

समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठूलो विकास भयो कि लाग्थ्यो अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनु पर्दैन होला । तर त्यसो भएन । पछिल्लो समय कोरोना भाइरसको प्रकोपले विश्वका करोडाैं मानिसको दैनिकी नाटकीय रूपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ । विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा आकाश जमीनको अन्तर आएको छ । करोडौँ बालबालिकाहरू विद्यालय जान पाएका छैनन् । उद्योगधन्धाहरू बन्द छन् । मजदुरले तलब नपाउँदा रोगले भन्दा भोकले मर्ने अवस्था बढ्दो छ । महामारीको यो चक्रीय प्रणाली अगाडि बढिरहँदा नेपालमा भने सरकार आँखा चिम्म गरेर बसेको आभाष हुन्छ । ऊ मात्र जान्दछ लकडाउन, अनि लुजडाउन र फेरि लकडाउन ।

यहाँ त लाजमर्दो कुरो केसम्म भइसक्यो भने नेपालमा दाताहरूले विभिन्न कम्पनीका झण्डै ९० लाख डोज खोप दिइसकेका छन्, तर सरकार यति धेरै निकम्मा भइसकेको छ कि त्यसकै कारण लगभग २१ लाख मानिसले खोप लाउन पाएका छन् भने बाँकी खोप त्यसै फ्रिज भएर सरकारको ढुकुटीमा खेर गइरहेको छ । सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ अब त्यो जोसँग छ, उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशंका पनि उब्जन थालेको छ । एकातिर सरकारको ढुकुटीमा खोप भण्डारण हुँदै अब त्यो ‘आउटडेटेड’ हुने क्रममा छ भने आममानिसमा कहिले खोप लाउँला र बाचौँला भन्ने झिनो आशा भने मेटिएको छैन । खोपका लागि घण्टौँ लामो लाइन यत्रतत्र देखिन्छ । आफ्नो पालो आएपछि ‘खोप सकियो’ भन्ने उर्दी आउँछ, जसले गर्दा मानिसमा सरकारप्रति नै विश्वास घट्दो छ । कोभिडलाई लिएर अब त के पनि भन्न थालिएको छ भने महामारीको यो श्रृंखला छैठौँ भेरियन्टसम्म जान्छ । सन् २०२३ सम्म नै यस्तै हुनेवाला छ । यो वास्तविकता वा अफबाह मात्रै हो, त्यो सम्बन्धित निकायले पत्ता लगाउनुपर्छ । यदि वास्तविकता नै हो भने अब आममानिसको रोजगारी, बालबालिकाको शिक्षा एवं भविष्यका लागि निच मारेर बस्ने बेला छैन । किनकि रोग र भोक सँगसँगै आउने र जाने प्रक्रियाहरू हुन् । यिनलाई गफले टार्न सकिँदैन र तत्काल राज्य व्यवस्थाले समाधानको उपाय पत्ता लगाउनै पर्छ ।

खोपको विकल्प रोग प्रतिरोधी क्षमताको विकास
अब खोप, खोप मात्रै भनेर पनि हुँदैन । किनकि हामीले जुन खोप लगाइरहेका छौँ, त्यो कति विश्वसनीय छ÷छैन भन्ने स्पष्टता पनि हामीसँग छैन । न त छ खोप उत्पादन गर्ने कम्पनीहरूसँग नै । फेरि दाताले दिएको खोपले कतिलाई पुग्छ ? राज्य संयन्त्रले आफैँ खोप खरीद गर्ने भन्ने कुरा पनि कल्पनाभन्दा बाहिरकै विषय हो । त्यसर्थ अब खोपको विकल्पमा जानुपर्ने टड्कारो आवश्यकता छ । त्यो भनेको योग र साधना नै हो । नेपाली जडिबुटी विश्वमै नामी र दामी छन् । तिनमा आवश्यक अध्ययन हुन सक्यो र महामारीमा लाभकारी हुने जडिबुटीजन्य आयुर्वेद औषधिहरूको खोजी भयो भने पनि केही हदसम्म लाभ नै हुनेछ । दिमाखमा सकारात्मक सोचको विकास गर्ने, दैनिकरूपले कम्तीमा एकघण्टा योगाभ्यास गर्ने गर्दा शरीरमा रोगप्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ । हिजो एलोप्याथी औषधि नहुँदा पनि हाम्रा पुर्खाले आफूसँग भएका जडिबुटी खाएर रोग निको पारेको इतिहास कहीँ छिपेको छैन । अहिले त योगका थुप्रै गुरुहरू हुनुहुन्छ । यदि त्यो सम्भव नभएमा हामी आफैँ पनि योगका लागि अभ्यास गराउन तयार छौँ । अब कोभिडको महामारीरूपी फोबियालाई निर्मलीकरण गर्न आवश्यक भइसकेको छ ।

बालबालिकाका लागि घरभन्दा विद्यालय नै सुरक्षित
कलिला बालबालिकाहरू १६ महिनादेखि घरमै बस्दा तिनको मन मस्तिष्कमा के कस्तो असर परिरहेको छ, त्यसतर्फ कोही कसैको ध्यान पुगेको देखिँदैन । सरकारले विद्यालय असुरक्षित भन्दै बालबालिकालाई घरमै बस्ने र विद्यालय बन्द गर्ने घोषणा त गर्याे तर तिनका बाबुआमा कामकाजी हुन्छन् । घरबाहिर नगई व्यवहार चल्दैन । उनीहरू बिहान बाहिर जाने र बेलुकी घर आउँदा कति संक्रमित हुन्छन् ? र त्यो असर आफ्ना नानीहरूमा पर्छ कि पर्दैन ? भन्नेतर्फ न त राज्यले सोच्यो, न कोही शिक्षाविद् वा सरोकारवालाले नै । यहाँ त के भनियो भने विद्यालयहरू कोभिडका लागि ‘हटस्पट’ बने भन्दै सुझ न बुझसँग सञ्चार माध्यमहरूले समाचार बनाए ।

सरकार त्यसकै पछि लाग्यो र अन्ततः विद्यालयलाई बन्द गराइयो । त्यसको असर साना नानीहरू एउटा वा दुईटा कोठामा बस्न बाध्य भए । अर्को दुःखलाग्दो कुरो के भयो भने सरकारले वैकल्पिक सिकाइ भन्दै अनलाईन शिक्षा भन्यो । तर त्यसले कलिला नानीहरूलाई के कति लाभ गर्यो वा असर गर्याे भनेर आजसम्म कुनै अनुसन्धान भएको छैन । सबै अभिभावकहरूले आफ्ना नानीहरूलाई समय दिन पनि सक्दैनन् । दिए पनि कतिले आफ्ना नानीहरूको सिकाइप्रति आवश्यक ध्यान दिन नसकेको पनि हुनसक्छ । नयाँ प्रविधिको असर कलिला बालबालिकाहरूलाई कति पर्छ भन्ने यकिन त कसले पो गर्न सकेको छ र ? त्यसर्थ यो अहिलेको यथार्थता हो । तत्काल सरकारले विद्यालय शिक्षालाई भौतिक रूपमा उपस्थिति जनाएर भए पनि विद्यार्थीहरू स्कुल जान पाउने वातावरण बनाउनुपर्छ । यो नै अहिलेको आवश्यकता हो । तथापि विद्यार्थीको भौतिक उपस्थितिलाई के कसरी सुरक्षित बनाउने भन्ने विषयमा आम अभिभावक, विद्यालय व्यवस्थापन र सरकारले आवश्यक गृहकार्य भने गर्नुपर्छ ।

लकडाउनको हल्लाले आशभन्दा त्रास बढी
अहिले त हामीकहाँ कस्तो भयो भने राम्रोेभन्दा नराम्रो र जिम्मेवारीभन्दा पनि होहल्ला गरेर मानिसलाई दिग्भ्रमित गराउने खेल बढ्न थाल्यो । संसार बिगार्ने औषधि र हतियारको व्यापार नै हो । यस विषयमा हामी के कति गम्भीर वा जिम्मेवार छौँ, त्यसतर्फ पनि अब सोच्ने बेला भइसकेको छ । हुन त यो अवस्था सबै क्षेत्रमा व्याप्त छ । फेरि पनि लकडाउनकै हल्ला छ । जबजब लकडाउनको हल्ला हुन्छ, मानिसमा आशभन्दा त्रास बढ्न थाल्छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारणभन्दा अरू रोगले मर्नेको संख्या धेरै गुणा बढ्दो छ । मानिसमा डिप्रेसन व्याप्त छ । सकारात्मक सोच हराउँदा मानिस रोगी बन्न विवस भए । महामारीलाई न्यूनीकरण गर्ने अनेकन उपायहरू हुँदाहुँदै सरकार लकडाउनकै सहारा लिन बाध्य छ । मानिसहरू पनि सरकारले लकडाउन गर्छ, दुईचार दिन चुप लाग्छन्, फेरि आफ्नो पुरानै पारामा फर्कन थाल्छन् । हुन पनि उनीहरूसँग अरू उपाय हुँदैन । विश्वका विकसित देशहरूमा पनि कोभिड छ तर तिनले कोभिडको महामारीलाई न्यूनीकरण गर्दै सामान्य जीवनयापन गर्दै आएको पाइन्छ । केही दिनअघि मात्रै जापानमा त्यत्रा विकास र निर्माणका कामहरू भएको देखियो । अमेरिकामा कोभिडविरूद्ध दुबै डोज भ्याक्सिन लगाएकाहरूले माक्स लगाउनु नपर्ने कुरा आएको छ । चीनमा पनि कोभिड महामारीलाई लगभग न्यूनीकरण गर्ने क्रम बढ्दो छ । यो सबै लकडाउनसँगै चालिएका वैकल्पिक उपायहरू सशक्त भएर नै हो । तर हामीकहाँ लकडाउन भनियो, सारा कर्मचारीलाई विदामा बसाइयो, संक्रमण न्यूनीकरण गर्नेतर्फ केही काम गरिएन । फलस्वरूप सरकार लकडाउनको श्रृंखला मात्रै बढाइरहने, संक्रमण दर नघट्ने अवस्था भयो । त्यसर्थ यस कुरामा राज्य व्यवस्था अत्यन्तै चनाखो भएर अगाडि नबढे लकडाउन र त्यसबाट सिर्जित हुने समस्याहरूले भयावह रूप लिने छ । र, अन्ततः नेपाल फेलियर स्टेटमा रूपान्तरण हुने छ ।

(लामा मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष एवं मन्टेश्वरी चेन अफ स्कुलकी प्रिन्सिपल हुन् ।)

 

 

सम्बन्धित समाचार