कृष्णप्रसाद न्यौपाने
काठमाडौं, १६ साउन ।
मेरो पक्ष भनेर उच्च स्वरमा कुर्ली झपारे पनि
हो हाम्रै जित यो भनेर खुसले खुट्टा बजारे पनि।
आहा! सुन्दर मिष्ट भाषण भनी ताली बजाए पनि
नेता निष्ठ भएन पो यदि भने बन्दैन केही पनि।।
ल्यायौँ तन्त्र मिलेर किन्तु गतिला आशा थिए ती मरे ?
राणा पञ्च हटेर यो मुलुकमा नौला कुरा के गरे ?
राजा शासनमा सुशासन थियो ऐले बिलायो कता ?
आफ्नो मात्र भलाइ सोच रहँदा भोगिन्छ यस्तै दशा।।
राँके , वीर मसान भाग्दछ अरे ढ्याङ्ग्रो ठटाएपछि
हात्ती, सिंह, बँदेल बस्दछ उतै डाँडो कटाएपछि।
नेता जात अचम्म उठ्छ किन हो हारेर लड्दा पनि
सत्ता मोह मिठो छ स्वाद कि कसो उफ्रिन्छ हारे पनि।।
के हुन्थ्यो जनभावको कदर खै कर्तव्यको पालना
कुर्सी दौड छ नित्य यो मुलुकमा नेता सबै भाँडमा।
सत्ताको चलखेल चल्दछ यहाँ फाली पुराना जन
आफ्नो मानिस फेरि उच्च पदमा ल्याइन्छ खोजीकन ।।
मन्त्री भाग पुगेन झन् गलफती बाँडिन्छ मन्त्रालय
आस्था केन्द्र बनेन न्याय अहिले बन्डा छ न्यायालय।
नेपाली मन यो दुखी छ बबुरो देखेर यी रक्षक
नेता हुन् चटकी तमास छ सदा हामी कठै! दर्शक।।
जिन्दगानी
(भुजङ्गप्रयात छन्द)
।।१।।
अहो! फूल झैं लाग्छ यो जिन्दगानी
सही फुल्छ आफैँ कडा धूप पानी।
नहेर्ला कसैले नफक्रे जवानी
भए फूल राम्रा नियाल्छिन् बिहानी।।
।।२।।
सबै कोपिला फुल्न खोज्छन् धरामा
हँसाएर बास्ना छरी आँगनीमा।
चरी गौथली डाक्छ नौलो प्रभात
लुकी हेर्छ प्रेमी परी झ्यालबाट।।
।।३।।
कतै घाम मात्रै कतै भेल बाढी
कतै मेघ घुम्टो नपारेर पानी।
छ पीडा रुवाई सदा छेडखानी
फुली झर्नु पर्ने यहीँ जिन्दगानी।।
।।४।।
कहाँ मिल्छ जैले वसन्तोत्सवादि।
नभोगेर गर्मी र हेमन्त आदि।
छ यो जिन्दगी फूल थुङ्गा समान।
सुरक्षा गरी राख्न को सक्छ ज्यान।।
।। ५ ।।
सधैं बास ल्याई फुलून् पुष्प सारा
दिऊन् माधुरी नित्य पीयूष धारा।
नआओस् नि आँधी नभोगून् तुसारो
बनोस् स्वच्छ धर्ती सबैको पियारो।।