क्लासिक टेकको ठगी धन्धा

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको ठगी धन्धाको पर्दाफास भएको छ । शुरुमा ग्राहकलाई ५०, ८०, १०० एमबीपीएसको इन्टरनेट दिने भनेर आकर्षक प्रलोभन देखाइ वार्षिक रूपमा ठूलो धनराशि कुम्ल्याउने क्लासिक टेकले वास्तविक रूपमा भने ५ एमबीपीएस पनि दिने नगरेको खुल्न आएको छ ।

एकजना पीडितले नवकान्तिपुरसँग भने ‘हामीलाई ५० एमबीपीएसको इन्टरनेट तथा नेट टीभी दिने भनेर एक वर्षको एकमुष्ठ १८ हजारभन्दा बढी रकम लिए तर त्यो अनुसारको सुविधा दिएनन् । इन्टरनेट ५ एमबीपीएसको पनि छैन भने टीभी नचलेको तीन महिनाभन्दा बढी भइसक्यो । धेरै पटक ताकेता गर्यौं तर पनि बनाइदिँदैनन् । आउँछु भन्छन् तर आउँदैनन् । फोन गर्दागर्दा १/२ हजार रुपैयाँ सकियो होला तर पनि सुनुवाइ भएन ।’



 

 

अफरका नाममा इन्टरनेट सेवा प्रदायकहरू दिनदहाडै उपभोक्ताहरूलाई लुटिइरहेका छन् तर नियामक निकाय बेखबरझैं देखिन्छ । अफरका नाममा उपभोक्तालाई लोभ्याउने तर अफर गरेर रकम असुलेपछि सर्तअनुसारको सुविधा नदिने प्रवृत्ति मौलाउँदै गएको अर्का पीडितले गुनासो गरे । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले उपभोक्ताहरूलाई जति मूर्ख बनाए पनि नियामक निकायले कार्वाही नगर्ने भएपछि उनीहरूको मनोबल बढेको उनले गुनासो पोखे ।

यस बारेमा नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता रहेका निर्देशक सन्तोष पौडेलसँग सम्पर्क गर्दै एउटा उपभोक्ताका रूपमा आफू पनि पीडित भएको बताए तर नियमनको जिम्मेवारी अन्तै पन्छाए ।

सम्बन्धित समाचार