नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ। मंगलबार दोस्रोपटक बसेको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन नसकेपछि आज बस्नेगरी बैठक सकिएको थियो ।
आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले बताए।
पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ।
साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ।

