नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।

नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
वरिष्ठ नेता खनालको आज (बुधबार) डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको सर्जरी टिमले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत असार २ गते उपचारको लागि नेता खनाल भारत गएका थिए ।
हाल उनको अवस्था सामान्य रहेको र थप स्वास्थ्य लाभपछि नेपाल फर्किने सचिवालयले जनाएको छ । खनालको दुवै मिर्गौलामा समस्या थियो ।
