नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।

महाधिवेशन मिति आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिन भित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको तोकिएको मितिमा हुनेमा आशंका कायमै छ ।
