नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । शेरचनले साउन २७ गते अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी जानकारी दिएका छन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
३४ जना सांसदहरुको हस्ताक्षर सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखेरलले अल्पमतमा पर्दा पनि राजीनामा नदिएको भन्दै विपक्षी दलले आक्रोश पोख्दै आएका छन् । त्यस्तै विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएको छ ।
