नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली विश्वास गर्न लायक पात्र नरहेको भन्दै ओलीका व्यवहार र अभिव्यक्तिले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । यद्यपी आफू पक्षधर नेताहरुलाई उनले संयमित अभिव्यक्ति दिन आग्रह गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले सरकारमा जाने वा नजाने बारेमा स्पष्ट केही बोलेनन् ।
नेपालको भनाइ उदृत गर्दै सुरेन्द्र मानन्धरले भने – एकातिर केपी ओलीले हामीलाई एमालेमा स्पेस नदिने,अर्कातिर हामीले लडेर जोगाएका संसदको पूर्ण अवधि कायम गर्ने चेपुवामा हामी छौं । तर हामीले सरकारमा जानका लागि यो गठबन्धन बनाएको होइन । संविधान,लोकतन्त्र र संसद जोगाउन हो ।
नेता नेपालले यति हुँदा पनि सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेको भन्दै पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौति रहेको बैठकमा बताएका थिए । नेपालले पार्टी एकताका लागि आफू इमान्दार रहेको समेत प्रष्ट पारेका छन् ।
