नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।

सत्ता गठबन्धनले आफ्नो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन शीर्ष नेताहरूले आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रममा आगामी निर्वाचनसम्म सहकार्य गर्ने विषयमा सहमति जनाएका छन् । माधव नेपाल समूहले पार्टी एकताको प्रयास पनि गरिरहेकोले उक्त समूहले पार्टी पार्टी विभाजन गरेको खण्डमा निर्वाचनमा सहकार्य गर्ने शर्तसहित न्यूनतम साझा कार्यक्रममा सहमति जनाएको बताइन्छ ।
निर्वाचनमा नेकपा एमालेलाई घेराबन्दी गर्ने गठबन्धनको तयारी छ । केपी ओली प्रतिगमनकारी भएकोले उनलाई नेपालको राजनीतिमा उठ्नै नसक्ने गरी हार चखाउने योजना गठबन्धनको छ । त्यसैले पनि प्रतिगमनको विरूद्ध उभिएर आफूहरूलाई साथ दिंदै आएको माधव नेपाल पक्षलाई ओलीको साथ छोड्न गठबन्धनले विभिन्न आश्वासन पनि दिने गरेको छ । नेपाललाई पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउनेदेखि मन्त्रिपरिषद्मा सम्मानजनक स्थान दिने, गठबन्धन कार्यदलको संयोजक दिनेदेखि संवैधानिक नियुक्तिमा ६० प्रतिशत हिस्सा दिनेसम्मको आश्वासन नेपाल समूहलाई दिइएको छ ।
नेपाल समूहका दोस्रो तहका केही नेताहरूले एमालेबाहेकमा भविष्य नदेख्दा नेपाललाई अफ्ट्यारो परिरहेको छ । त्यसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले नेता नेपाललाई निर्वाचनमा हाल एमालेमा रहेको हैसियतको जित सुनिश्चित गर्ने बाचा पनि दिएका छन् । देउवा र प्रचण्डको कुरालाई नेपालले विश्वास गरे पनि उनी समूहका केही प्रभावशाली नेताहरूले विश्वास गर्न नसक्दा यो समूह गठबन्धन कि एमाले भन्नेमा दोधार देखिन्छ ।
माधवको भविष्य एमालेमा राम्रो कि गठबनधनमा ?
सत्ता गठबन्धनले निर्वाचनसम्म कार्यगत एकता गर्न चाहेको विषय झण्डै एक साता अगाडि एमाले अध्यक्ष केपी ओलीले आफूनिकट नेताहरूसँग खोलेका थिए । उनले गठबन्धनबीच निर्वाचनसम्म सहकार्य भएमा एमालेलाई राष्ट्रिय राजनीतिमा अस्थित्व जोगाउन सकस हुने ओलीको भनाइ थियो । त्यसको लागि एमालेको पहिलो प्राथमिकता गठबन्धन फुटाउनु नै हुने विषय ओलीले गोप्य बैठकमा राखेका थिए । गठबन्धन भत्काउन पहिलो प्रयास स्वरूप नेपाल समूहलाई एमालेमा ल्याएर गर्नुपर्ने निष्कर्षमा ओली पुगेका थिए । त्यसैले पनि उनी नेपाल समूहप्रति नरम भएका थिए ।
यता माधव नेपालले पनि निर्वाएचनसम्म गठबन्धनलाई कायम राख्न सकिने हो भने आफ्नो भविष्य एमालेमा भन्दा गठबन्धनमै राम्रो हुने बुझेका छन् । सबै दल एकातिर र एमाले अर्कोतिर भएको अवस्थामा आफूहरू एमालेमा भएमा एमालेकै ओली पक्षको भोट पनि नपाउने र गठबन्धनको भोट पनि नपाउने अवस्था आउन सक्ने नेता नेपालले आफू निकटका नेताहरूलाई सुनाउने गरेका छन् । त्यसैले पनि पार्टी फुटाएको अपजस नआउने गरी उचित वातावरणमा नयाँ पार्टी खोल्ने दिशामै अगाडि बढ्नुपर्ने नेपाल पक्षको रणनीति रहेको छ ।
जारी केन्द्रीय कमिटी बैठकमा पनि अधिकांश नेताहरूले एमालेमा रहन नसकिने र गठबन्धनमै भविष्य रहेको बताइरहँदा पनि बाहिर पार्टी एकतामै जोड दिने निर्णय भएको सूचना दिइएको छ । यसको भित्री मर्म पनि पार्टी पुटाएको अपजस आफूहरूमा नआओस् भन्ने विषयले नै काम गरेको देखिन्छ । त्यसैले नेपाल समूहले अबको केही दिन पार्टी र गठबन्धनलाई व्यालेन्समैं राख्ने र ओली अगाडि बढेपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको भन्दै पार्टी फुटमा ओलीको हात रहेको भन्दै गठबन्धनमा सामेल हुने आँकलन गर्न सकिन्छ ।
