कृष्णप्रसाद न्यौपाने
काठमाडौं, २३ साउन ।
दुर्गा भवानी कमला र काली
सरस्वतीझैँ सम पूज्य नारी।
पापी घमन्डी पुरुषत्व भित्र
मारिन्छ चेली किन नित्य नित्य ?१।।
छोरी भएरै डर लाग्छ आज
अस्तित्व मेट्छौ किन ए समाज !
फुल्नै नपाईकन च्वाट्ट पारी
गला निमोठ्छौ ममता नराखी ।।२।।
संसार यो सुन्दर बागवानी
सुवास नौलो सुषमा बिहानी ।
नारी सबै पुष्प मुना समान
चुँडेर फाल्छौ किन बागवान ?३।।
आमा दिदी वा दुहिता बुहारी
भान्जी र बैनी भतिजी र काकी ।
बुझ्दैन मान्छे किन स्वाङ पारी
हुन् सृष्टि सञ्चालक मूल नारी ।।४।।
धर्ती छ साझा अति रम्य ठाउँ
छोराहरू झैँ म यहीँ रमाऊँ।
पापी दुरात्मा किन बाँच्न दिन्न
के बाँच्नु मेरो अधिकार हैन ? ५।।
मारिन्छ नारी भ्रुण गर्भभित्र
निर्दोष जन्मे पनि भेद नित्य।
तुहाइ छोरी घरकी बुहारी
खोज्दै छ मान्छे दुनियाँ चहारी ।।६।।
सती बनेकी जिउँदै जलेकी
म बाल वैधव्य सही बसेकी ।
खोज्छौ कि आफैं इतिहासभित्र
पीडा अनेकौं छ सजीव चित्र ।।७।।
बेचिन्छ चेली छलले फकाई
के मिल्छ नारी जहिले रुवाई ?
छ दाइजो मोल हुँदैन मान ।
भोग्दी म नारी अति भुक्तमान ।।८।।
हत्या बलात्कार पिटाइ मार
कलङ्क टीका पहिराइ हार।
हेर्छौ कि सोची अब एक बार
मर्दै र बाँच्दै छु म बारबार ।।९।।
बाबा र काका भतिजा र भाइ
सन्त्रास देख्दै किन हो मलाई।
फुपाजु मामा अनि दाजुबाट
जाऊँ कि टाढा भन ए समाज !१०।।
भेटिन्न हत्या अपराध कर्ता
बिके कि न्यायालय न्याय कर्ता।
निर्धो भएझैँ चुपचाप आज
फिराद पोख्ने म कहाँ समाज ?११।।
दुःखी म चेली दुख भो धरामा
लुक्ने कि भागी वन कन्दरामा ?
जोगाउने खै कसरी म लाज
के बाँच्न पाउन्न यहाँ समाज ?१२।।