नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।

सत्ता गठबन्धनले आफ्ना न्यूनतम साझा कार्यक्रम तयार गरेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा जुटेको छ । कार्यदलले साझा कार्यक्रम र मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता तयार गरे पनि मन्त्रीको बारेमा केही बोलेको छैन । गठबन्धनमा रहेका तीन दल सरकारमा सहभागी हुने भएका छन् । एमालेको माधव नेपाल समुह र राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने योजनाका साथ तयारीमा जुटेका छन् ।
माधव नेपाल समूह पनि सरकारमा नजाने भएपछि कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्र र जसपाले समान सात सात मन्त्रालय पाउने पाउने भएका छन् । तीनै दलको भागमा एक एक राज्यमन्त्री पनि पर्ने भएका छन् । माधव नेपाल सरकारमा सहभागी नहुने भए पनि उनलाई विभिन्न नियुक्तिमा अवसर दिने गठबन्धनको तयारी छ ।
मन्त्री छान्न धौधौ
कांग्रेस, माओवादी र जसपा तीनै दललाई यतिबेला मन्त्री छान्न धौधौ परेको छ । मन्त्रीका आकांक्षी धेरै र पाउने मन्त्रालय सीमित भएपछि दलहरूलाई मन्त्री छान्न धौधौ परेको हो । नेपाली कांग्रेसमा देउवाले आफ्नो समूहलाई ४ मन्त्रालय, पौडेल पक्षलाई २ मन्त्रालय र सिटौला पक्षलाई १ मन्त्रालय दिने भएका छन् । देउवाको यो निर्णयमा रामचन्द्र पौडेलले असहमति जनाएका छन् । उनले आफ्नो समूहलाई ३ मन्त्रालय चाहिने अडान राखेका छन् ।
यता माओवादी केन्द्रमा पनि मन्त्री बन्नेहरूका आकांक्षी धेरै हुँदा मन्त्री छान्न सकेका छैनन् । यसअघि प्रचण्डले मन्त्रीका आकांक्षी धेरै भएकोले इतिहासकै अफ्ठ्यारो मोडमा रहेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । आकांक्षी धेरै भएपछि माओवादीले मन्त्री छान्न अघोषित मापदण्ड बनाएको बताइन्छ । जसमा यसअघि ओली सरकारमा सहभागी हुनेहरूलाई नदोहोर्याउने भएको छ । मन्त्रीको लाविङ गर्दै कोही बालुवाटार पुग्ने त कोहीले आत्माहत्या गर्नेसम्मका धम्की दिनथालेपछि प्रचण्डले विभिन्न खालका मापदण्ड बनाएको बताइन्छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ र पुर्वसभामुख कृष्णबहादुर महराले पनि मन्त्री बन्न मरिहत्ते गरेपछि सरकारमा उपप्रधानमन्त्री पद नै नराख्ने भनेर प्रचण्डले उनीहरूलाई रिङ आउट गरेको चर्चा छ ।
यता जसपामा पनि मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिइएको छ । अध्यक्ष उपेन्द्र यादव आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुन चाहन्थे । तर प्रचण्ड र देउवाले उपप्रधानमन्त्रीको व्यवस्था नगर्ने र गठबन्धनका शीर्ष नेता सरकारमा सहभागी हुनु नहुने भनेपछि यादव पछि हटेका छन् । यादव पछि हटेसँगै जसपा राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । तर यहाँ पनि महन्थ ठाकुर छोडेर आएकाहरूले मन्त्रीमा आकांक्ष देखाएकोले मन्त्री छान्न सकस परेको देखिन्छ ।
समग्रमा तीनै दलमा मन्त्री छनौट प्रक्रिया टुंगोमा नपुगेकोले सोमबार पनि मन्त्रिमण्डलले पूर्णता पाउनेमा ढुक्क हुने अवस्था छैन । तर प्रधानमन्त्री बनेको महिना दिन बित्न लाग्दासमेत ४ मन्त्रीको भरमा सरकार हाँकेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना हुने गरेकोले देउवा भने जतिसक्दो छिटो मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा जुटेका छन् ।।
