भित्रभित्र महाअभियोगको तयारी भएको सुइँको पाएपछि एमालेलाई एक बनाउन राष्ट्रपति सक्रिय, राष्ट्रपतिकै दवावमा पछि हटे ओली

सत्ता गठबन्धनसँग एमाले अध्यक्ष केपी ओली मात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारी पनि तर्सिन थालेकी छन् । ओलीलाई घेराबन्दी गर्न गठबन्धनका दलहरू आगामी निर्वाचनसम्म कार्यगत एकता गर्न तयार भएपछि एमालेलाई राजनीतिक अस्थित्व जोगाउनुपर्ने चर्को दवाव छ । विपक्षीहरू एक भएसँगै ओलीले गता साता आफूनिकट नेताहरूसँग राष्ट्रपतिलाई महाअभियोग लगाएर झलनाथ खनाल या रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने तयारी भएको सूचना पाएको बताएका थिए । यो सूचना शीतलनिवासले पनि पाएपछि राष्ट्रपति नै एमाले एकता जोगाएर महाअभियोगको खतरा टार्न सक्रिय भएको बताइन्छ ।

महाअभियोगको सुइँको पाएलगत्तै राष्ट्रपतिले हिजो साँझ माधवकुमार नेपाल पक्षका प्रभावशाली नेता तथा एमाले उपाध्याक्ष भीम रावलसँग झण्डै ३ घण्टा वार्ता गरेकी थिइन् । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा विजयी भएका रावल र भण्डारीबीच व्यक्तिगत सम्बन्ध पनि निकट रहेको छ । रावलसँगको भेटमा भण्डारीले एमाले एक नभए पार्टीको अस्थित्व समाप्त हुने र एमालेले प्राप्त गरेका उपलव्धि पनि एकपछि अर्को गर्दै समाप्त हुने बताएकी थिइन् । पार्टीले प्रधानमन्त्री गुमायो, मुख्यमन्त्रीहरू गुमाउन थालेको र अझै एक हुन नसके राष्ट्रपति पद पनि गुमाउने भन्दै सचेत भएर पार्टी एकतामा लाग्न आग्रह गरेकी थिइन् ।



रावलसँगको वार्तापछि भण्डारीले ओलीलाई फोन गरेर केन्द्रीय कमिटी बैठक स्थगित गर्न निर्देशन दिएकी थिइन् । लगत्तै ओलीले केन्द्रीय कमिटी बैठक स्थगित गरेर नेता नेपालसँग वार्ताको चाजोपाजो मिलाउन दोस्रो तहका नेताहरूलाई आग्रह गरेको बताइन्छ । सम्भव भएसम्म ओली नेपालबीच आजै वार्ता गर्ने तयारी छ । ओलीले पार्टी सदस्यता नवीकरण प्रक्रिया पनि तत्काललाई रोक्न निर्देशन दिएर नेपाल पक्षको एक चरणको माग पूरा गरेका छन् । त्यसले नेपाल पक्षलाई वार्तामा बस्न नैतिक दवाव परेको छ । माधव नेपाललाई पनि उनी निकटका नेताहरूले वार्तामा बसेर पार्टी एकता जोगाउन दवाव दिइरहेकोले एक दुई दिनभित्र एमाले एकतामा नयाँ सिनारियो देख्न सकिने एमाले स्रोतको दाबी छ ।

सम्भव छ राष्ट्रपतिलाई महाअभियोग ?
राष्ट्रपतिले केपी ओली प्रधानमन्त्री भएको वखत सम्पूर्ण असंवैधानिक काममा साथ दिएको भन्दै गठबन्धनका दलहरू उनीसँग रूष्ठ छन् । त्यसैले पनि उनीहरू एमाले फुटाएर भए पनि राष्ट्रपतिलाई महाअभियोग लगाएर बदला लिन चाहन्छन् । त्यसको लागि माधव नेपालसँग पार्टी फुटाउने हैसियत नभएपछि अध्यादेश ल्याएर पार्टी फुटाउन सहयोग गर्न गठबन्धन तयार देखिएको छ । हालको समीकरण हेर्दा माधव पक्ष पनि गठबन्धनमा सहभागी हुँदा ओलीसँग प्रतिनिधिसभामा ९० को हाराहारीमा सांसद रहन्छन् भने सत्ता गठबन्धनको दुई तिहाई पुग्छ । जुन संख्या महाअभियोगको लागि पर्याप्त हुनेछ ।

महाअभियोग राष्ट्रियसभाबाट पनि पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा एमालेका ३१ जना सांसदमध्ये ओलीसँग कम्तीमा २४ सांसद् रहेका छन् । अर्थात् राष्ट्रियसभामा सत्ता गठबन्धनलाई दुईतिहाइ पुग्ने देखिँदैन । त्यसैले पनि गठबन्धनले माधव नेपाललाई धेरै मन्त्रालय दिएर र ओली खेमामा रहेका केही सांसद्लाई मन्त्री बनाएर भए पनि दुई तिहाई जुटाउने खेलमा लागेका थिए । त्यसको सुइँको पाएपछि नै राष्ट्रपतिले एमालेलाई एक बनाउन लागिपरेको बताइन्छ ।।

सम्बन्धित समाचार