
सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधिको विषयमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेदेखि बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।
बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा केन्द्रित भएको नेताहरुले बताए । गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गर्नेछ ।
सरकारले आगामी दिनमा प्रथमिकता दिनुपर्ने विषय, सरकारमा सहभागी हुने मन्त्रीहरुको न्यूनतम आचार संहिता , संविधान संशोधनलगायतका विषय उठाइएको कार्यदलका सदस्यहरुले बताएका छन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहित कार्यदलका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।
