नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।
मन्त्रीको पदमा पुगूँ म कसरी सोचेर नेतागण।
सत्ता खेल असाध्य चल्छ यिनमा लाग्छन् यही काममा।।
चिन्ता एक छ प्राप्ति हुन्न कि भनी मन्त्री हुने चाहना।
औडाहा छ सदैव चिन्तन उही मन्त्री बनूँ कामना।।१।।
मन्त्रीको पदभार लिन्छ जसले यो लोकले चिन्छ रे।
घुम्ने देशविदेश रञ्जन गरी सौभाग्य पाइन्छ रे।।
राम्रो भव्य निवासको सुख सबै त्यो राज्यले दिन्छ रे।
दामी मोटर औषधी सँगसँगै भत्ता ठूलै मिल्छ रे।। २।।
मन्त्रीको पदमा पुगेपछि सबै सङ्कष्ट मेटिन्छ रे।
आफूमात्र कहाँ र भाइभतिजो, सालो खुसी हुन्छ रे।।
बैनीज्वाईँ, फुपाजुको घर जहाँ अभाव मेटिन्छ रे।
हीरा, रौप्य, सुवर्ण, रत्न घरमा पुस्तौँ सुखी बन्छ रे।।३।।
मैलो आँगन टेक्न फेरि कहिले पर्दैन अग्लो घर।
गाडी चालक साथमा र जनता गर्छन् बडो आदर।।
मार्सी चामल, मांस , उत्तम सुरा पाइन्न केही कम।
ठूलो सान र मान कायम हुने चल्ने सदा हैकम।।४।।
थोरै जेल र नेल भोग छ भने सच्चा महानायक।
शिक्षा थोर रहोस् न ती तर भए मन्त्री हुने लायक।।
जाने बोल्न सदैव भाषण मिठो नेता बने आखिर।
फुस्लाए जनता जिते मत दिई मन्त्री हुनै तत्पर।।५।।
निष्ठा, राष्ट्रिय भक्ति छैन मनमा फोस्रो छ नारा पनि।
भ्रष्टाचार सिवाय हुन्न अहिले लोभी र पापी बनी।।
पार्टी फेर्न तयार छन् दिनदिनै मन्त्री हुने लोभमा।
आत्मा बेच्न सदैव तत्पर यिनी मन्त्री हुने दाउमा।।६।
सानो देश छ आयस्रोत छ कमी मन्त्री भने छन् अति।
बन्डा भाग पुगेन फेरि अहिले मन्त्री थपेछन् बढी।।
राष्ट्रोत्थान निमित्त लाग्नु त कहाँ घुम्छन् मिचाहा बनी।
कोहोलो छ सधैँ लडाइँ छ यहाँ मन्त्री म पाऊँ भनी।।७।।
हो मन्त्रालय उच्च लक्ष्य यिनको सङ्घीय वा प्रान्तको।
इच्छा शक्ति भएन राष्ट्र हितमा दुर्भाग्य नेपालको।।
तानातान विभाग नित्य छ यहाँ बाँडिन्छ मन्त्री पद।
नेपाली जनता दुखी छ बबुरो मन्त्री सबै हर्षित।।८।
फाँडो, गुन्द्रुक, साग, भात पहिले खान्थे मिठो स्वादले।
फित्ते चप्पल पाउमा त पहिरी डुल्थे बडो चालले।।
मन्त्रीको पदले अचम्मसँगले ल्याएछ नौलोपना।
मन्त्री बन्न लडाइँ चल्छ अहिले यो देश नेपालमा।।९।।