करोडौं ठगेर युरोप पुगेकालाई पक्राउ गरेर नेपाल ल्याइयो

बैंकिङ कसुर तथा विभिन्न व्यक्तिबाट करोडौँ रूपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका एक व्यक्तिलाई प्रहरी पक्राउ गरेर नेपाल ल्याएको छ। काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ का केदार ढुङ्गानालाई नेपाल प्रहरीको इन्टरपोलको टोली पोर्चुगल पुगेर पक्राउ गरेर शनिबार नेपाल ल्याएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ढुङ्गानाविरूद्ध जिल्ला अदालत काठमाडौं र ललितपुर तथा उच्च अदालत पाटनमा ठगी, बैंकिङ कसूर तथा सरकारी कागजात किर्तेका ३१ वटा मुद्दा दायर भएका छन्। जसअनुसार ललितपुर जिल्ला अदालतमा दायर १० वटा मुद्दामा उनलाई प्रतिमुद्दा एक वर्ष कैद र ७० हजार जरिवानको फैसला सुनाइएको छ। २०७७ पुस २० गते फैसला भएको उक्त मुद्दामा ढुङ्गानाले १० वर्ष कैद र सात लाख जरिवानाको सजाय भुक्तानी गर्नुपर्नेछ।



यस्तै उनीविरूद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएका लिखत सम्बन्धी कसूरमा पाँच वटा मुद्दा र उच्च अदालत पाटनमा दायर भएका बैंकिङ कसूर सम्बन्धी १६ वटा मुद्दा विचाराधीन छन्। ब्यूरोका अनुसार ढुङ्गाना र नारायण बहादुर श्रेष्ठसहित १२ जनाले देवः विकास बैंक लिमिटेडको काठमाडौं र ललितपुरका विभिन्न शाखा कार्यालयहरूमा विभिन्न सवारी साधनहरू सुरक्षण बापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत दुई करोड २ करोड ७१ लाख ७६ हजार लिई ठगी गरेको ब्यूरोले जनाएको छ।

कर्जा रकम नबुझाए पछि लिलामी गर्न खोज्दा उक्त सवारी साधनहरू बैंकको नाममा नरहेको पाइएको थियो। अनुसन्धानको क्रममा ढुङ्गानासमेतले सवारी साधन कर्जा लिन बैंकमा पेश गरेका सवारी दर्ता प्रमाण पत्र समेतका कागजातहरू कीर्ते बनाई पेश गरेको खुलेको ब्यूरोले जनाएको छ।

उक्त घट्नाको अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको बयानका आधारमा केदारको संलग्नता खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा ब्यूरोको टोलीले ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका–१ का नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काभ्रेकै चौबास–४ घर भएका कृष्णबहादुर खत्रीलाई पक्राउ गरेको थियो।

उक्त घट्नाका मुख्य योजनाकार ढुङ्गाना युरोपमा बिजनेस गरेर बसिरहेका थिए। उनलाई पक्राउ गर्न अन्तराष्ट्रिय स्तरमा खोज तलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले युएइको केन्द्रीय अनुसन्धान ब्यूरोसँग समन्वय गरी पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। ढुङ्गानालाई फैसला कार्यान्वयनको लागि आइतबार ललितपुर जिल्ला अदालतमा पेश गरिने उनले बताए।

सम्बन्धित समाचार