कृशलाको हत्या आरोपमा दुई जना पक्राउ, दिए यस्तो बयान

किशोरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्या आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–१ का दुई युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ। कृशला हत्यामा २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदाको संलग्नता रहेको प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले बताए। उचितलालको ‘घरबार बिगारिदिएको’ भन्दै उचितलाल र विषेले मिलेर कृशलाको हत्या गरेको प्रारम्भिक बयानमा खुलेको बोहोराले बताए। उचितलाल र विषे छिमेकी हुन्।

जेठी श्रीमतीले छोडेपछि उचितलालले कान्छी ल्याएका थिए। कान्छी श्रीमती पनि उचितलालाई छोडेर हिँडिसकेकी छन्। कान्छी श्रीमतीले छोडेर हिँडेपछि उचितलालले त्यसको दोष कृशलालाई लगाउँदै आएको प्रहरीको भनाइ छ। त्यसैको प्रतिशोधमा उचितलाल र विषे मिलेर कृशलाको हत्या गरेको खुलेको बोहोराले बताए। उचितलालकी कान्छी श्रीमती र कृशला साथी–साथी हुन्। कान्छी श्रीमतीले छोडेर हिँडेपछि उचितलालले कृशलासँग बदला लिने योजना बनाएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।



उनका अनुसार पूर्वयोजना अनुसारै उचितलालले विषेको सहयोग लिइ साउन १३ गते करिब राति साढे १० बजे कृशलाको हत्या गरेका अनुसन्धानबाट खुलेको छ। कृशला साउन १३ गते दिउँसो घरबाटै हराएकी थिइन्। उनको शव सडेको अवस्थामा १९ गते त्रियुगा नगरपालिका–६ कै राजदेवी सामुदायिक वन क्षेत्रको रातमाटे खहरे खोलामा भेटिएको थियो। शव भेटिएको भोलिपल्ट २० गते कृशलाका बुबा प्रेमकुमारले शव छोरीको भएको सनाखत गरेका थिए।

कृशलाको हत्या गर्दा एकजनाले छातिमा टेकेर घाँटी थिचेको र अर्काले हातको मुड्की प्रयोग गरी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार