नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।

सोलुखुम्बु, सिरहा, बारा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
सोलुखुम्बु, माप्य दुधकोशी गाउँपलिका-५ स्थित सडकमा बा.५४ प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ खाली बस्ने ३० वर्षीया सुमन राईको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै सिरहा, धनगढीमाई नगरपालिका-७ स्कुल चोकस्थित सडकमा स.१० प ४२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी १८ बर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियास्थित सडकमा प्र.२-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा.६५ प २७५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बा.६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने ४० बर्षीय टुलुराज तामाङ, प्र.२-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल चालक बारा निजगढ नगरपालिका-९ बस्ने १६ बर्षीया विकाश शाह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैना देबी शाह रहेका छन् ।
त्यसैगरी खोटाङ, केपिलासगढी गाउँपालिका-५ भुताप्सुस्थित सडकबाट ना.५ त. ६६०१ नम्बरको ट्याक्टर करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सह-चालक सोही ठाउँ बस्ने १९ उमेश राईलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लागिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
