नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदाै ।

नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले बुधबार पार्टी निर्वाचन आयोगमा दर्ता हुने जिकिर गरेकी छिन् । आफूहरु अहिले पार्टीको अन्तरिम विधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन भन्ने राजनीतिक विषयहरूको छलफलमा रहेको उल्लेख गर्दै बुधबार निर्वाचन आयोगमा सनाखत गर्न जाने र पार्टी दर्ता हुने दावी गरिन् । ‘बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।
निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको समेत उनको दावी छ । नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको माधव नेपाल नेतृत्वको समाजवादी पार्टीलाई सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ भने सोमबारदेखि नै सो समूहका नेताहरु चन्द्रागिरिको एक रिसोर्टमा रहेका छन् ।
यही बीच बाहिर आवश्यक संख्या नपुगेको भनेर प्रचार गरिएपछि झाँक्रीले यस्तो बताएकी हुन् ।
