नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु जिल्ला सभापतिको आन्दोलनलाई समर्थन गर्नको लागि पार्टी कार्यालय सानेपा पुगेका छन् । पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको बैठकले जिल्ला सभापतिहरु रिले अनसनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको हो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डाक्टर शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित थिए । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गरेका हुन् ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य, धादिङ जिल्ला सभापति रमेश धमला तथा युवा नेताद्वय रञ्जित कर्ण र डिल्लीराम सुवेदी अनसनमा बसेका हुन् । पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागेको नुवाकोट जिल्लाका सभापति केसी बताए । त्यस्तै उनले प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा . शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, चित्रलेखा यादव लगायत सानेपा पुगेर अनसनमा समर्थन जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गरेका हुन् ।
नेपाली कांग्रेसले १४औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको । वडा अधिवेशन आउन १० दिन पनि बाँकी नरहेका बेला निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।
