नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।

सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । संविधानको धारा १६८ (१) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।
नेकपा (एमाले)का सचिवसमेत रहेका आचार्य सुनसरी–१ (ख)बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि उनी संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए ।
विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मेका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आएका छन् । सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गरेका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय छन् । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए ।
विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उनी शेरधन राईसँग दुई मतले पराजय भएका थिए। नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा थिए ।
