नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदाै ।

नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। गएराति ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने प्रहरीले जनाएको छ।
डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ। उनले भने, ‘थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ।’ अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो। सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन्।
