स्थगित कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने

कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए।

उनकाअनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुने बोर्डको भनाइ छ। स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिने बोर्डको भनाइ छ। गत साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको व्यवस्था गरि परीक्षा सञ्चलानको तयारीमा जुटेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए। उनले बिहीबार स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा कक्षा १२ का सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्ने काम भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार