नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको छ लेनको कालो पत्रै सडकमा पर्यटकका लागि घुम्न रोक लगाइएको छ ।
टिकटक, भिडियो र फोटो खिँच्न आउनेहरुको भीडभाड बढेसँगै ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा घुम्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज(आइतबार)बाट रोक लगाएको हो । बुधवार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार आजदेखि उक्त सडकमा पर्यटकलाई घुम्न रोक लगाइने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको भिडका कारण कोरोनाको जोखिम बढेकाले यस्तो निर्णय गरिएको पाण्डेले बताए ।
