नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानमा सामान्य वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश– १ का एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
