
दाङको घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजेतिर नेपालगंजबाट घोराहीतर्फ आउँदै गरेको प्र–३–०१–०२४ च ४४४० नम्बरको सुजुकी एस प्रेस गाडीलाई बगाउँदा गाडीमा सवार घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ४० वर्षीया रीता माया पुन, सोही ठाउँ निवासी ३२ वर्षीया शुशिला श्रेष्ठ, घोराही १४ निवासी अन्दाजी ३२ वर्षीया राधा कुँवर र घोराही १४ निवासी करिब ४० वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । कार करिब डेढ किलोमिटर तल बगेको थियो ।
साथै कार चालक घोराही उपमहानगरपालिका वडा नं। १४ निवासी ४३ वर्षीय नर बहादुर पुनको खुट्टा भाँचिएको अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
घोराही उपमहानगरपालिका वडा नं।४ स्थित रहेको उक्त खोलाले गाडीलाई बगाएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दाङको २१ जना र प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली खटिएको थियो ।
