उपत्यकाका यी स्थानीय तहले दिए विद्यालय खोल्न अनुमति

काठमाडौं महानगरपालिकाले एक सातापछि महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनको परिधिभित्र रही पठनपाठन गर्न सक्ने निर्णय गरेपछि महानगरले स्कुल खोल्न दिने तयारी गरेको हो।

महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले लामो समयदेखि विद्यालय बन्द रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न दिने बताए। उनले भने, ‘अबका केही दिनसम्मको कोरोना अवस्था हेर्छौं, अरू नगरपालिकाले सञ्चालन गरे नगरेको पनि हेर्छौं, त्यसपछि खोल्न सकिने स्थिति देखिए एक सातापछि खोल्न दिइने छ।’



नेपालमा दोस्रो लहरको कोभिड १९ संक्रमण तीव्र गतिमा फैलिएपछि गत वैशाख १६ गते निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञासँगै उपत्यकाका विद्यालयहरू बन्द रहेका छन्। अहिले भने बिस्तारै स्कुल खोलेर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन हुन थालेको छ। गोकर्णेश्वर नगरपालिकाले भदौ १५ देखि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जारी गरेको ‘स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८’ मा पनि विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ। यसका लागि स्थानीय तहले सम्बन्धित जिल्ला प्रशासनसँग अनुमति लिनुपर्ने प्रावधान छ। त्यस्तै, ललितपुर महानगरपालिकाले पनि नगरभित्रका विद्यालय सञ्चालन गर्ने विषयमा छलफल थालेको छ। महानगरपालिकाका शिक्षा विभाग प्रमुख महेन्द्रबहादुर क्षेत्रीले अभिभावक, प्याब्सन, एनप्याब्सनलगायत सरोकारवालासँग छलफल गरिरहेको बताए।

सम्बन्धित समाचार