साथी (शार्दूलविक्रीडित छन्द)

देब्रेको लहरो चढेर रुखमा बेरेर बस्ने न हो
एकै स्थान तथापि पीडक हुँदा साथी कहाँ पो भयो ?
आफूमात्र रमाउने स्वजनको आधार के हुन्छ र ?
स्वार्थी क्षुद्र सँगै बसोस् न तर ऊ साथी कहाँ बन्छ र ? १।।

लाम्खुट्टे र जुका सदैव तिनले चुस्ने र टोक्ने न‌ हुन्
स्वार्थी मित्र सधैं मिठा वचनले लुट्ने र घुत्ने न हुन्।
मान्छे स्वार्थ घमन्ड प्रेरित भए त्यो मात्र हो बैगुनी
जस्तै लास बने भने जीव कुनै के बस्छ जुम्रो रुँगी।।२।।



पार्टी, चाड, रमाइलो बखतमा सारा अघि सर्दछन्
हेर्छन् दूर बसेर सङ्कट हुँदा चिप्ला कुरा गर्दछन्।
नाता होस् न समीपको तर सबै आफन्त के बन्दथे
हुन् ती बन्धु तथापि काम नदिने ढोँगी हितैषी भए।।३।।

आपद्का क्षणमा पुगेर नजिकै पीडा बुझी हेर्दछ
सच्चा त्याग गरेर चोट मनको मेट्ने कृपा गर्दछ
आफ्नो वान्धब बन्न मानिस कहाँ नाता हुनै पर्छ र ?
लाओस् गुन पवित्र स्वच्छ मनले आफ्नो उही बन्दछ।।४।।

दुःखीको मन शान्त पार्न कसिने सच्चा महामानव
सोधी हाल सप्रेम मद्दत दिने हुन् देवझैँ पूजक।
पर्दा कष्ट सघाउने मन भए नाता हुनै पर्छ र ?
सच्चा इष्ट बनेर अश्रु जल त्यो पुछ्ने सबै वान्धब।।५।।

यो संसार टिकाउने अति ठुलो सम्बन्ध हो केवल
अर्को ठाउँ, बिराममा, सकसमा चाहिन्छ धेरै भर।
ढोँगी , धूर्त , छली, हराम मतिका साथी नहोऊन् बरू
राम्रो ढाडस मित्रता सबल होस् चाहिन्न केही अरू।।६।।

 

 

सम्बन्धित समाचार