बहुप्रतीक्षित एप्पलको आईफोन १३ सिरिजका ४ मोडल सार्वजनिक : के के छन् विशेषताहरू ?

ग्याजेट्स भन्नाले मोबाइल फोन, ल्यापटप, स्मार्ट वाच, आईप्याडलगायतका इलेक्ट्रोनिक्स सामानहरू पर्दछन् । केही समययता युवा पुस्तामा लोकप्रिय हुँदै आएका ग्याजेट्सहरूमध्ये आईफोन सबैभन्दा धेरै चर्चामा छ । नेपालमा मात्र होइन, विश्वमा नै नयाँ आईफोन बोक्न पाउनु गर्वको विषयजस्तै बनेको छ । त्यसैले पनि हरेक वर्ष विश्वभरिका करोडौं मानिसहरू नयाँ आईफोनको पर्खाइमा हुने गर्छन् ।

यसै मेसोमा हालै मात्र बहुप्रतीक्षित एप्पलको आईफोन १३ सार्वजनिक भएको छ । गएको मंगलबार राति एक भव्य समारोहका बीच एप्पलले आईप्याड, आईप्याड मिनी, एप्पल वाच सिरिज ७, आइफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स आदि सार्वजनिक गरेको छ ।



संसारभर प्रतीक्षित आईफोन १३ सार्वजनिक भएसँगै यसको मूल्य र नयाँ फिचरको बारेमा पनि चर्चा चलिरहेको छ । डिजाइनका हिसाबले आईफोन १२ सिरिजका मोबाइलहरूभन्दा आइफोन १३ सिरिजका मोबाइलमा ठूलो अन्तर नदेखिए पनि आईफोन १३ सिरिजका फोनहरूमा अन्य केही उत्कृष्ट फिचरहरू समावेश गरिएको र क्यामरालाई थप परिस्कृत गरिएको समाचारहरू बाहिरिएका छन् ।

ए १५ बायोनिक चिप राखिएको आईफोन १३ मा हालसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट सीपीयू रहेको एप्पलले दाबी गरेको छ । १६ कोर न्युरल इन्जिन रहेको यो आईफोनमा आइओएस १५ को साथमा प्रयोगकर्ताले अर्को तहको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले दिएको जानकारीअनुसार नयाँ आईप्याड अर्को हप्तादेखि बजारमा उपल्ऽब्ध हुनेछ भने आईफोन शुक्रबारदेखि बजारमा उपलब्ध हुनेछ । त्यस्तै एप्पल वाच (सिरिज ७) भने केही समयपछि मात्र बजारमा आउने बताइएको छ ।

यस्ता छन् नयाँ फिचरहरू :

आईप्याड र आईप्याड मिनी

आईप्याड र आईप्याड मिनी

अहिलेसम्मकै सस्तो आईप्याडको रूपमा बजारमा आएको एप्पलको यस आईप्याडमा ए १३ प्रोसेसर प्रयोग भएको छ, जसमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । हालसम्मकै सस्तो दरमा उपलब्ध भएको यस आईप्याडमा ६४ जीबी स्टोरेज रहेको छ भने वाइडर लेन्स र एलटीई वायरलेस कनेक्सन पनि भएको यस आईप्याडको मूल्य कम्पनीले ३२९ अमेरिकी डलर अर्थात् नेपाली ३८ हजार ७२८ रूपैयाँ तोकिएको छ ।

त्यस्तै कम्पनीले मंगलबार एप्पल आईप्याड मिनी पनि सार्वजनिक गरेको छ । ८.३ इन्चको स्क्रिन रहेको यो आईप्याडमा १२ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ । फिगंरप्रिन्ट सेन्सर, स्टेरियो स्पिकर रहेको आईप्याड मिनीले फाइभजी वायेरलेस कनेक्सन पनि सपोर्ट गर्नेछ । टच आईडी सेन्सर, यूएसबी कनेक्टर पनि रहेको यस आईप्याड मिनीको मूल्य ४९९ अमेरिकी डलर अर्थात् नेपाली ५८ हजार ७४० रूपैयाँ तोकिएको छ ।

एप्पल वाच सिरिज ७

एप्पल वाच सिरिज ७
त्यसैगरी कम्पनीले मंगलबार राति एप्पल वाच सिरिज ७ पनि सार्वजनिक गरेको छ । एप्पल वाच सिरिज ६ भन्दा स्क्रिन एरिया २० प्रतिशतले फराकिलो रहेको एप्पल वाच सिरिज ७ मा फास्ट चार्जिङ सपोर्टसहित क्रयाक रेसिस्टेन्ट रहेको कम्पनीले बताएको छ ।

निलो र रातोसहित यो पाँचवटा रङ्गमा उपलब्ध हुने यस वाचमा विश्वका विभिन्न देशको टाइम जोन सहितको वाच फेसहरू उपलब्ध रहने छन् । बजारमा यसको मूल्य ३९९ अमेरिकी डलर अर्थात् नेपाली ४६ हजार ९६९ रूपैयाँ रहेको छ ।

आईफोन १३ र आईफोन १३ मिनी

आईफोन १३ र आईफोन १३ मिनी
आईफोन १३ मिनीमा ५.४ इन्च र आईफोन १३ मा ६.१ इन्च डिस्प्ले रहेको छ । यी फोनहरू पाँच वटा रङमा उपलब्ध हुने छन् । फाइभजी सपोर्ट गर्ने यी फोनहरू ६० वटा देशमा चल्ने बताइएको छ । यी फोनमा कम्पनीले निर्माण गरेको ए १५ बायोनिक चिप प्रयोग भएको छ ।

त्यस्तै यी आईफोन उच्च पानी प्रतिरोधी हुनुका साथै फेस आइडी, सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले, शक्तिशाली तथा उत्कृष्ट डुअल रियर क्यामरासहित उपलब्ध छन् । आईफोनमा १३ मेगापिक्सेलको वाइड तथा १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर रहेको छ भने क्यामरामा सिनेम्याटिक मोड पनि रहेको छ । सबैभन्दा तीव्र गतिको सिक्स कोर सिपियु पनि यस आइफोनमा उपलब्ध छ ।

यस आईफोन १३ को मूल्य बजारमा ७९९ अमेरिकी डलर अर्थात् नेपाली ९४ हजार रूपैयाँ रहेको छ भने आईफोन १३ मिनीको मूल्य ६९९ अमेरिकी डलर अर्थात् नेपाली ८२ हजार २८४ रूपैयाँ रहेको छ ।

आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स

आईफोन १३ र आईफोन १३ मिनी
आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा ट्रिपल् रियर क्यामरा रहेका छन् । क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर पनि हुनेछ । आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । आईफोन १३ प्रो को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन प्रो म्याक्सको ६.५ इन्च रहेको छ ।

ए १५ बायोनिक चिप प्रयोग गरिएको यस आइफोंमा सानो नच र १२० हर्जको रिफ्रेस रेट रहेको छ । आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स १२८, २५६, ५१२ जीबी तथा १ टीबीसम्मको स्टोरेज क्षमतामा उपलब्ध हुनेछन् । आइफोन १३ प्रो म्याक्सलगायत सबै नयाँ आईफोनका क्यामरामा नाइट मोड हुनेछ जसले रातको समयमा उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सहयोग पुग्नेछ ।

ब्याट्रीको कुरा गर्ने हो भने दुबै मोडलमा लिथियम आयन ब्याट्री पाइनेछ जुन १५ वाटको मेगसेफ वायरलेस चार्जिङ र ७.५ वाटको क्यूआई वायरलेस चार्जिङलाई सपोर्ट गर्छ । कम्पनीको दाबी अनुसार यो २० वाटको एडेप्टरबाट ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुनेछ । आइफोन १३ प्रोमा १२२ घण्टाको भिडियो प्लेब्याक, २० घण्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ७५ घण्टाको अडियो प्लेब्याक पाइने छ । यसैगरी, आइफोन १३ प्रो म्याक्समा २८ घण्टाको भिडियो प्लेब्याक, २५ घण्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ९५ घण्टाको अडियो प्लेब्याक पाइने छ ।

बजारमा आईफोन १३ प्रो को मूल्य ९९९ अमेरिकी डलर अर्थात् नेपाली एक लाख १७ हजार ५९९ रूपैयाँ छ भने आईफोन १३ प्रो म्याक्सको मूल्य १,०९९ अमेरिकी डलर अर्थात् नेपाली १ लाख २९ हजार ३७० रूपैयाँ रहेको छ ।

यहाँ उल्लेख गरिएको मूल्य कम्पनीले निर्धारण गरेको करबाहेकको डलर मूल्यलाई नेपाली करेन्सीमा कन्भर्ट गरिएको मात्र हो । नेपाली उपभोक्तासम्म यी फोनहरू आइपुग्दा उल्लेखित मूल्यमा धेरै थप हुने छ ।

सम्बन्धित समाचार