नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत चौथों तथा आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले पहिले ब्याटिङ गरेको ओमान ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो । उसका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए भने जतिन्दर सिंहले १३ रन जोडे । त्यस्तै नसिम खुशी १२ रनको योगदान दिए भने कालिमउल्लाह ११ रनमा अविजित रहे । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४-४ विकेट लिए भने शरद भेषवाकरको नाममा २ विकेट रह्यो ।
१२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा तीन विकेट गुमाउदै पूरा गर्यो । एकदिवसीय क्रिकेटमा नेपालले ओमनलाई पहिलो पटक पराजित गरेको हो । नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको अर्धशतकीय पारि खेल्दै अविजित रहे भने आसिफ शेख ४० रनमा बनाए । नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरे । त्यस्तै कुशल भुर्तेल र रोहितकुमार पौडेलले समान ६- ६ रन जोडे भने शरद भेषवाकर एक रनमा अविजित रहे । ओमानका लागि नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा घरेलु टोली ओमनसँग पाँच विकेटले नै पराजित भएको थियो । त्यस्तै शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । सिरिज अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेको थियो । जसमा नेपाले सिरिज २-० ले आफ्नो पक्षमा पारेको थियो । विश्वकप लिग–२ मा नेपाल रहेका समूहमा पपु्वा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले ८ खेलमा चार जित र चारमा हारका साथ ८ अङ्क जोड्दै लिगको चौथों स्थानमा उक्लिएको छ ।
यस्तै ओमान १३ खेलमध्ये १० मा जीत र तीनमा हार बेहोर्दै २० अङ्कसहित शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हारसहित १४ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै आठ अङ्कसहित चौथों स्थानमा छ ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अङ्कबिहीन बन्दै लिग–२ को पुछारमा रहेको छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।