नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। गए राति भएको खेलमा पन्जाब किङ्स राजस्थानसँग २ रनले पराजित हुन पुग्यो ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १८५ रन बनाएको थियो । उसका लागि याशभी जैसवालले ४९ बनाए भने महिपाल लोम्रोरले ४३ रन जोडे । त्यस्तै, इभिन लेविसले ३६ रन बनाई आउट भए भने लियाम लिभिङस्टोनले २५ रन जोडे । पन्जाबका लागि अर्शदिप सिंहले ५ विकेट लिए भने मोहमद शामीको भागमा ३ विकेट रह्यो ।
१८६ रनको लक्ष्य लिएर मैदान उत्रेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १८३ रन मात्र बनाउन सक्यो र २ रनको साँघुरिलो हार व्यहोर्यो । पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले ४९ रन बनाए । यस्तै, निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले २६ रनमा अविजित रहे । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक भएकोमा राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन दिँदै २ विकेट लिएपछि पन्जाब जितबाट टाढा रह्यो ।
राजस्थानका लागि कार्तिक त्यागीले २ विकेट लिए भने चेतन साकरिया र राहुल टेवाटियाको भागमा समान १-१ विकेट रह्यो । जितसँगै राजस्थान ८ खेलमा ८ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने ९ खेलमा ६ अंक जोडेको पन्जाब सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद भिड्दै छन् ।