नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (आइतबार) भएको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । आज भएको खेलमा विराटनगर वारिवर्स चितवनसँग २ विकेटले पराजित हुन पुग्यो ।
त्रि वि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५१ रन बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेले भने अनिल शाहले ३२ रन बनाए । त्यस्तै सौरभ खनालले ३० रनमा अविजित रहँदा बिक्रम भुसालले ७ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले समान २-२ विकेट लिए भने शाहब आलमको भागमा १ विकेट रह्यो ।
१५२ रनको लक्ष्य लिएर मैदान उत्रेको चितवनले २० ओभरमा ८ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए भने भिम सार्कीले ३० रन जोडे । यस्तै दिलिप नाथ २३ रन बनाई आउट भए भने करिम जनतले १९ रन जोडे । विराटनगरका लागि सिकन्दर राजा र करण केसीले समान २-२ विकेट लिए भने प्रतिस जिसी, अनिल खरेल र रायन पठानको भागमा समान १-१ विकेट रह्यो ।