पोखरा राइनोजको शानदार जित

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बुधबार) भएको पहिलो खेलमा पोखरा राइनोज विजयी भएको छ । आज भएको खेलमा ललितपुर प्याट्रीयट्स पोखरासँग भारी अन्तरले पराजित हुन पुग्यो । वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा झारिएको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउदै ५१ रन बनाएको थियो । ललितपुरका लागि सन्दुन वीराक्कोडीले १९ रन बनाए भने ओशाडा फर्नान्डोले १० रनमा अविजित रहे । त्यस्तै नारायण जोशीले ११ रन बनाई आउट भए भने पवन सर्राफले ५ रन जोडे । पोखराका नन्दन यादवले ३ विकेट लिए भने बिक्रम सोबले २ तथा केस्रिक विलियम्सको भागमा १ विकेट रह्यो ।



५२ रनको लक्ष्य पोखराले ६.३ बलमा १ विकेट गुमाउदै पूरा गर्यो । पोखराको लागि रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए भने रित गौतमले १२ रन जोडे । ललितपुरका लागि अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए । जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ । ललितपुरको अंक विहीन रहँदै तालिकाको पुछारमा रहेको छ ।

सम्बन्धित समाचार