नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बुधबार) भएको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स विजयी भएको छ । आज भएको खेलमा विराटनगर वारियर्स भैरहवासँग ६ विकेटले पराजित हुन पुग्यो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो । विराटनगरका लागि दिल्शन मुनाविराले २५ रन बनाए भने सुमित महर्जनले १३ रन जोडे । त्यस्तै आसिफ शेख र अनिल शाहले समान ११ रन बनाई आउट भए भने बसन्त रेग्मी १० रनमा अविजित रहे । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले समान ३-३ विकेट लिए भने अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीको भागमा समान १-१ विकेट रह्यो ।
९० रनको लक्ष्य लिएर मैदान उत्रेको भैरहवाले१५.३ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । भैरहवाको लागि उपुल थारंगा ३४ रनमा अविजित रहे भने प्रदीप ऐरीले २२ रन बनाए । त्यस्तै रोहित पौडेल र तामिम इकवालले समान १२-१२ रन बनाई आउट भए भने कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहे । विराटनगरको लागि रामनरेश गिरीले २ विकेट लिए भने बसन्त रेग्मी र करण केसीको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै भैरहवा २ खेलमा ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने २ खेलमा अंक जोड्न नसकेको विराटनगर पाँचौं स्थानमा रहेको छ ।