नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असाेज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने बताए ।
संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामुख त्यसमा सहयोगी बनेको भन्दै एमालेले निरन्तर विरोध गर्दै आएको छ।
गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने भन्दै भट्टराईले आफ्नो दल बैठकमा नजाने बताए। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो।
यता सरकारले एमाले सहमतिमा नआए संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

