नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । गए राति भएको खेलमा राजस्थान रोयल्स बैंगलोरसँग ७ विकेटको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय पारी खेले भने याशस्भी जैसवालले ३१ रन बनाए । त्यस्तै कप्तान सन्जु सामसनले १९ रन बनाई आउट भए भने क्रिस मोरिसले १४ रन जोडे । बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए भने युजभेन्द्र चाहल र शाहबाज अहमेदको भागमा समान २-२ विकेट रह्यो ।
१५० रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले भने श्रीकर भारतले ४४ रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले २५ रन बनाई आउट भए भने देबदत्त पड्डीकलले २२ रन जोडे । राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
जितसँगै बैंगलोर ११ खेलमा १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने ११ खेलमा ८ अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज सनराईजर्स हैदराबाद र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् ।