नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडै मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका छन् । आज (बिहीबार) शहीद प्रतिष्ठना नेपालको १२औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आजभोलि भित्रै मन्त्रालयको भागबण्डा टुंगिने बताएका हुन् ।
प्रचण्डले भने, ‘हामीले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौँ, अरु मन्त्रालय आजभोलि नै टुंगिँदैछ ।’ उनले जनयुद्ध र जनआन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने भनेर प्रक्रिया अघि बढेको बताए । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनका उपलब्धी उल्ट्याउन खोज्नेविरुद्ध आफूहरुले जितेको बताए । उनले भने,’हामी पराजित भएको भए गणतन्त्र नै उल्ट्याउने काम हुन्थ्यो । भिन्न रुपको जनयुद्ध नै हामीले जितेका थियौँ ।’
त्यस्तै प्रचण्डले गठबन्धन कार्यक्रमको साझा न्युनतम कार्यक्रममा पहिलोचोटी शहीद, बेपत्ता, घाइते अपाङ्गका बारेमा र उपचारका सन्दर्भमा राज्यका तर्फबाट औपचारिक दस्तावेजीकरण भएको बताए । उनले शान्ति प्रक्रियाको १५ वर्षपछि पनि आफूहरुलाई अझै घेरा हाल्ने काम भइरहेको दाबी गरे ।

